पत्नीलाई पेट्रोल खन्याएर जलाउने प्रयास, आरोपित 'फरार'

  ०८१ पुस ४ गते

चौतारा साँगाचोकगढी नपा–१ स्याउलेकी ३० वर्षीया पेमालामु थिङलाई पुस २ गते घरैमा बसिरहेको अवस्थामा ३३ वर्षीय पति वीरबहादुर तमाङले पेट्रोल खन्याएर जलाउने प्रयास गरेको पीडितको आरोप छ ।

पतिले बोतलमा पेट्रोल लिएर घर भित्र पसी ‘तँलाई जलाएर मारिदिन्छु भन्दै लिएर आएको पेट्रोल शरीरमा खन्याएर जलाउनको लागि सलाई कोर्न खोज्दा आफू भागेर सदरमुकाम आएको’ पीडितले बताउनु भएको छ ।

पतिले आफुलाई पेट्रोल खन्याएर जलाउने प्रयास गरेको भन्दै पीडित जिल्ला प्रहरी कार्यालयस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुस २ गते दिउँसो पुग्नु भएको थियो । महिला तथा बालवालिका सेवा केन्द्रबाट प्रहरी टोली घटनास्थालमा पुग्दा आरोपित ‘फरार’ भएको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्चार्ज सजिना चौगुठीले बताउनु भयो ।

पीडितलाई उपचारको लागि पुस २ गते दिउँसो चौतारा अस्पताल लगिएकोमा सामान्य उपचारपछि बेलुका चौतारास्थित पुनर्स्थापना केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशङ्कर यादवले बताउनु भयो ।

पीडितको माइती पक्ष आएपछि उजुरी दर्ताको प्रक्रिया सुरू हुने चौगुठीले बताउनु भयो । यसअघि ०८१ भदौ महिनामा पनि पतिले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । त्यस घटनामा आरोपितलाई प्रहरीले डाकेर सम्झाइबुझाइ गरेर आइन्दा कुटपिट नगर्ने शर्तमा मिलापत्र गरेपछि घर गएका थिए ।


नातिबावु धिताल