पत्नीको हत्या पछि पतिद्वारा आत्महत्या

  ०८० कात्तिक १४ गते

स्याङ्जाको चापाकोट नगरपालिका–७ खासा बस्ने ४६ वर्षीया पार्वती  विकलाई ५५ वर्षीय पति देवबहादुर विकले कात्तिक १३ गते बन्चरो प्रहार गरेर हत्या गरेपछि आत्महत्या गरेको स्याङ्जा प्रहरी प्रमुख एसपी सञ्जय राउतले बताउनुभयो ।

पत्नीको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफूँ पनि  घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको प्रहरी प्रमुख राउतले बताउनुभयो । कात्तिक १३ गते बेलुकै  हत्या गरेपछि आत्महत्या गरेपनि परिवारले मंगलबार बिहान मात्र थाहा पाएको हो ।

साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

यसअघि पनि पति पत्नीको कुट्ने र झै झगडा हुने गरेको छोरीहरुले प्रहरीलाई बताएका छन् । सोमबार साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको प्रहरी प्रमुख राउतले बताउनुभयो ।

दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल पुर्‍याइएको छ ।


समीक्षा ढकाल