पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ५ गते

सुर्यविनायक नगरपालिका–९ की ३२ वर्षीया पवित्रा ब्याञ्जुको हत्या गरेको आरोपमा पति ३३ वर्षीय राजन ब्याञ्जुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा आफ्नै घरमा मादक पदार्थ सेवन गरेका दुबै जनाबीच खाना पकाउने विषयमा बिवाद भएपछि फागनु ३० गते आरोपितले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितले कुटपिट गरि हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

दुबैसँगै बसेर रक्सि खाएको र पछि खाना पकाउने र खाने विषयमा विवाद हुँदा आरोपितले पत्नीलाई लात्ती, मुक्का र दाउराले हानेर हत्या गरेको अनुसन्धानमा खुलेको डिएसपी जोशीले जानकारी दिनुभयो । फागुन ३० गते नै महानगरीय प्रहरी वृत्त जगातीमा हत्या घटनाको आरोपितका दाजु साजन ब्याञ्जुले हत्या भएकाले अनुसन्धान गर्न उजुरी दर्ता गराउनुभएको थियो । त्यस्तै मृतकका दाजु प्रेमबहादुर घर्तीले पनि प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएको डिएसपी जोशीले बताउनु भयो ।

प्रहरीले घटना भएकै दिन घरबाटै आरोपितलाई गिरफ्तार गरि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको चैत ४ गते जानकारी दिएको छ । शवको पोष्ट मार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा फागुन ३० गते गरिएको डिएसपी जोशीले बताउनु भयो ।


रमेश गिरी