पत्नीको हत्या गरेको आरोपमा उजुरी दर्ता, आरोेपित पति गिरफ्तार

  ०७८ कात्तिक २४ गते

सबैला नपा-३ की ३० वर्षीया अजमेरी खातुनको घाँटी थिचेर कात्तिक ८ गते हत्या गरेको आरोपमा ३५ वर्षीय पति लालबाबु साफीविरुद्ध इलाका प्रहरी कार्यालय सबैलामा पीडित परिवारले दिएको उजुरी कात्तिक २३ गते दर्ता गरिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो ।

आरोपितलाई इलाका प्रहरी कार्यालय सबैलाले कात्तिक १० गते नै गिरफ्तार गरिसकेको इन्स्पेक्टर सिग्देलले बताउनु भयो ।

कात्तिक ८ गते राति ‘रक्सी खाएर मातेका लालबाबुले पत्नीले छोरा नजन्माएको आरोप लगाउँदै’ घाँटी थिचेर हत्या गरेको अजमेरीका बुबा मोहम्मद आलमले बताउनु भयो ।

१३ वर्ष पहिले प्रेम विवाह गरेकी अजमेरीले छोरा नपाएको र विवाहमा दाइजो नल्याएको आरोप लगाउँदै लालबाबु साफी, २३ वर्षीया नन्द नुरजहा खातुन, ४० वर्षीय जेठाजू मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मोहम्मद आलमको आरोप छ ।

शवको पोष्टमार्टम कात्तिक ९ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ । पीडित परिवारजनकै उजुरीको आधारमा घटनाको छानविन अगाडि बढाइएको र घटनामा संलग्न अन्य आरोपितको खोजी भइरहेको इन्स्पेक्टर सिग्देलले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह