न्यूना गाउँमा खाद्यान्न अभाव, आपुर्तिको व्यवस्था गर्न स्थानीयको आग्रह

  ०७८ माघ १५ गते

साइपाल गाउँपालिका–५ को न्यूना गाउँमा गत पुस महिनादेखि खाद्यान्न अभाव भएपछि सो गाउँका ३५ घरपरिवार भोकमारीको चपेटामा परेका छन् ।

आलु, फापर, जौँ र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको साइपाल गाउँपालिकाको न्यूना गाउँमा खाद्यान्न अभाव भई भोकमरी सुरु भएपछि स्थानीयबासीहरु चमल आपुर्ती गर्न गाउँपालिकासँग आग्रह गर्दै आएका छन् ।

उब्जनी नहुने यस क्षेत्रका बासिन्दाहरु हरेक वर्ष भोकमरीको समस्या झैल्दै आएको भएपनि स्थानीय सरकारले समस्याको दिर्घकालिन समाधानमा खासै पहल नगरेको स्थानीय डबल बाोहराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– व्यापारीहरुले अनुदानको चामल सस्तोमा किनेर मौज्दात गर्ने र खाद्यान्न अभाव भएपछि महंगोमा बेच्ने गरेका कारण उपभोक्ताहरु थ्प समस्यामा पर्ने गरेका छन् ।

उब्जनी नहुने न्यूना गाउँका मानिसहरुको मुख्य आम्दानीको स्रोत जडिबुटी, भेडापालन, यार्सागुम्बा भएपनि पछिल्लो समय वन नासिदै गएपछि जडिबुटी र भेडापालन व्यवसाय लोभ हुँदै गएपछि सो क्षेत्रका बासिन्दाहरुले आर्थिक सङ्कट व्यहोर्नु परेको हो ।

गत पुस महिनामा भएको हिमपात कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न निकै सकस भई दुई हप्तादेखि गाउँनै भोकमरीको चपेटामा परेको स्थानीय ध्वज बोहराले दुखेसो पोख्नु भयो ।

ताक्लाकोट नाका हुँदै चीनबाट मैदा ल्याएर पनि स्थानीयले जीवन चालउने गरेको भएपनि कोभिड महामारीका कारण नाका बन्द गरिएपछि गाउँमा खाद्यान्नको थप सङ्कट भएको स्थानीय संकर धामीले बताउनु भयो ।

गाउँमा भोकमारी सुरु भएपछि बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई थप समस्या भएपछि ज्यानको मायाँ मारेर खाद्यान्नको खोजीमा सदरमुकाम आएको स्थानीय मनवीर बोहराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘भोकभन्दा ठूलो केही नहुने रहेछ । हिउँले सेताम्मे पहाडमा बाटो कता हो भन्नेसमेत थाहा पाइँदैन । ज्यान जोखिममा राखेर बाटो बनाउँदै तिन दिन हिँडेर बल्लतल्ल सदरमुकाम आइपुग्यौँ ।’

खाद्यान्न पहलका लागि सदरमुकाम चैनपुर पुगेका साइपाल गाउँपालिका–५ न्यूनाकी वडाध्यक्ष सुम्नीमा गिरीले गाउँमा भोकमारी हुन थालेपछि हेलिकेप्टरबाट खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाउन सरमुकाम पुगेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘खाद्य संस्थानसँग हिमपातले भेडा, खचडबाट खाद्यान्न ढुवानी गर्न नसकिने अवस्था छ । गाउँमा भोकमारी सुरु भएको छ । खाद्य संस्थानलाई हेलिकेप्टरबाभट भएपनि ढुवानीका लागि पत्र पठाएर आग्रह गरेका छौँ ।’

साइपाल गाउँपालिकाको धौलौनलगायतका अन्य वडाहरुमा चामल मौज्दात गरेर राखिएको भएपनि हिमपातका कारण ढुवानी गर्न समस्या भएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘३ हजार मिटर अग्लो लाग्ना पहाडमा ढाइ फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गरेर आएका छौँ । चामल ढुवानिका लागि गाउँपालिकाले पेश्की रकम समेत भुक्तानी गरिसकेको छ । पहिला बाढीपहिरोले गर्दा सदरमुकाम चैनपुरमा समेत चामल ल्याउन ढिलाई भयो ।  बाटोमा हिउ परेपछि चामल ढुवानी गर्न समस्या भएको छ । न्यूना गाउँका लागि चामल ढुवानी गर्न खाद्य संस्थान र जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाबाट पत्र पठाएका छौँ ।’

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आफू भरखरै मात्रै जिल्लामा आएकोले न्यूना गाउँमा खाद्य सङ्कट भएको भन्ने बारेमा जानकारी नभएको बताउनु भयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यालय प्रमुखसँगको भेटघाट तथा छलफलमा न्यूना गाउँमा खाद्यन्न सङ्कट उत्पन्न भएको भनेर जानकारीमा आएकोले समस्या समाधानका लागि खाद्य संस्थानसँग छलफल गरेका ढुवानीको व्यवस्था मिलाउने बताउनु भयो ।

नेपाल खाद्य संस्थान, बझाङका प्रमुख इश्वरिदत्त पाण्डेले साइपाल गाउँपालिकाका लागि पहिलेनै ३ हजार क्यिन्टल चामल स्विकृत भएको तर बाटोका समस्याले गर्दा पठाउन नसकिएको भएपनि केही दिन भत्रै हिउ पन्छयर भएपनि भेडाहरुको सहयोगमा खाद्यान्न ढुवानी गरिने बताउनु भयो ।

photo20220122Bajhang (1)

photo20220122Bajhang (2)


सत्यराज सिंह