न्यूनतम पारिश्रमिक नपाएको गुनासो

  ०७६ असोज ३० गते

नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको ओखलढुङ्गामा कार्यरत यातायात मजदुर (कर्मचारी) हरूले गुनासो गरेका छन् ।

जिल्लामा सञ्चालित चार ओटा यातायात कम्पनीमा कार्यरत १२ जनाभन्दा बढी कर्मचारीहरूले राज्यले तोकेको पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

असोज ३० गते एवानसिटी भिलेज यातायात प्रालिमा कार्यरत युवराज राईले राज्यले तोकेको न्यूनतम पारिश्रमिकका विषयमा अधिकारकर्मी, पत्रकारहरू, सांसदहरूले आवाज उठाए पनि यातायात क्षेत्रमा कार्यरत मजदुरका विषयमा कसैले आवाज नउठाएको गुनासो गरे । उनले भने–‘हामीले श्रम ऐन अनुसार पारिश्रमिक पाएका छैनौँ । कसले सुन्ने हाम्रो गुनासो ?’

सरकारले ०६९ जेठ ९ गते राजपत्रमा सूचना प्रकाशित गरेर चिया बगान बाहेकका अन्य क्षेत्रका मजदुरहरूको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ५ सय ५० रुपियाँ र महङ्गी भत्ता २ हजार ६ सय ६० रुपियाँ तोकेको थियो ।

सो अनुसारको पारिश्रमिक नपाएको यातायात मजदूरको गुनासोबारे इन्सेक प्रतिनिधिले असोज ३० गते प्रमुख जिल्ला अधिकारी तथा सङ्घीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गुनासोकर्तालाई उजुरी लिएर आउन आग्रह गरेका छन् । आचार्यले उजुरी आए रोजगारदाताहरूलाई बोलाएर उजुरीमाथि छानविन प्रक्रिया अघि बढाउने र यातायात मजदूरको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।


शिवप्रसाद ढुङ्गाना