न्यूनतम पारिश्रमिकको माग गर्दै शिक्षकहरू आन्दोलित

  ०७८ भदौ ३१ गते

बारेकोट गाउँपालिकाका शिक्षकहरूले न्यूनतम पारिश्रमिकको माग गर्दै चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् ।

शिक्षकहरूको भदौ २९ गते बसेको वैठकले नेपाल सरकारबाट न्यूनतम पारिश्रमिक तोकिए बमोजिम लेखा–सहायक, बाल विकास शिक्षक र कार्यालय सहयोगीको तलव उपलब्ध गराउन माग सहित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको नेपाल विद्यालय कर्मचारी परिषद बारेकोटका अध्यक्ष घमण्ड सिंहले जानकारी दिनु भयो ।

लामो समयदेखि गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत ८२ जना कर्मचारीले न्यूनतम तलव भत्ता बापतको दुइ महिनाको रकम नपाएको उहाँको गुनासो छ ।

सिंहका अनुसार संघीय सरकारले आर्थिक वर्ष ०८७÷७९ को बजेटमा न्यूनतम पारिश्रमिक १५ हजार रूपियाँ दिने उल्लेख गरी ८ हजार संघीय सरकारले र ७ हजार रूपियाँ स्थानीय सरकारले दिने परिपत्र गरेको छ ।

उक्त पत्रिपत्र अनुसार जाजरकोटका अन्य स्थानीय तहले कार्यान्वयन गरेको तर बारेकोट गाउँपालिकाले कार्यान्वयनका लागि कुनै पहल नगरेका कारण आन्दोलित हुनुपरेको उहाँको भनाइ छ ।

वैठकले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सर्वप्रथम स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउने, क्रमशः शिक्षा युवा तथा खेलकुद शाखामा तालाबन्दी गर्ने, शिक्षक समितिमार्फत शान्तीपूर्ण धर्ना गर्ने, निर्णयहरूको सुनुवाई नभए थप आन्दोलन गर्ने अध्यक्ष सिंहले बताउनु भयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर शाहीले बजेटमा सम्वोधन भएपनि शिक्षा मन्त्रालयले कार्यक्रम कार्यान्वयन पुस्तिकामा प्रकाशन नगर्दासम्म शिक्षाकहरूलाई रकम दिन नमिल्ने बताउनुभयो ।

शिक्षा मन्त्री नियुक्ति भए लगत्तै पुस्तिका प्रकाशन हुने र त्यसपछि मात्र शिक्षकहरूको माग सम्वोधन हुने शाहीको भनाइ छ ।


दिनेशकुमार श्रेष्ठ