न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा

  ०७९ असार २० गते

झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् ।

वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले  मुद्दाको पेसी चढ्न र फैसला हुन नसकेपछि जिल्ला अदालतमा न्याय सम्पादन कार्य प्रभावित हुँदा सेवाग्राही समस्यामा परेका हुन् ।

न्यायाधीस जोशीको सरुवा भएपछि पेसी चढाउनु पर्ने र फैसलाको क्रममा रहेका ४७ थान मुद्दा थन्किएर रहेका अदालतका श्रेष्तेदार नारायण पौडेलले बताउनु भयो ।

हालसम्म जिल्ला अदालतमा देवानी अन्तर्गतका १७ र फौजदारी अन्तर्गतका ३० थान मुद्दा न्यायाधीसको अभावमा पेसी चढ्न र फैसला हुन बाँकी रहेको अदालतका नायब सुब्बा कमल ढुङ्गानाले बताउनु भयो ।

मुद्दा दर्ता भएपनि पेसी चढ्नेदेखि फैसलासम्मका अदालति काम वैशाख महिनदेखि नै रोकिएको नायब सुब्बा ढुङ्गानाको भनाइ छ ।

“मुद्दा दर्ता मात्रै भएका छन्, वैशाख महिनादेखि फैसला हुन सकेको छैन ।” नायब सुब्बा ढुङ्गानाले भन्नु भयो । असार महिना मै फैसला हुन नसकेपछि मुद्दाहरु अर्को आर्थिक वर्षमा सर्ने सम्भावना रहेको छ ।

जिल्ला अदालतमा न्यायाधीश अभावका कारण फैसलाको काम नहुँदा मुद्दाको सङ्ख्या बढ्नुको साथै पीडितले समय मै न्याय नपाउने अवस्था रहेको अधिवक्ता कृष्णप्रसाद ढुङ्गानाले बताउनु भयो ।

सुर्खेतबाट स्थानीय तहको निर्वाचनका लागि खटाइएका न्यायाधीश मनोज श्रेष्ठलाई काजमा जिल्ला अदालत, अछामको जिम्मेवारी दिइएको भएपनि निर्वाचनपछि सुर्खेत फर्किसक्नु भएको जिल्ला अदालतका श्रेस्तेदार पौडेलले बताउनु भयो ।

न्यायाधीश अभावका कारण पेसी र आदेशका काम रोकिएका भएपनि न्यायाधीसले सम्पादन गर्नु पर्ने बाहेकका अदालती कामहरु नरोकिएको जिल्ला अदालतमाका श्रेस्तेदार पौडेलको भनाइ रहेको छ ।

उहाँले अहिलेसम्म पनि न्यायाधीश आउने बारेमा कुनै सूचना नपाएको बताउनु भयो  ।


शिवराज ढुङ्गाना