न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन

  ०८० जेठ २४ गते

सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर अनसनरत अवस्थामा मृत्यु भयो भने आमा गङ्गामाया वीर अस्पतालमा अनसनरत हुनुहुन्छ ।

गोरखा जिल्ला फुजेल गाविस-७ घर भई रत्ननगर नपा-१३ जयमङ्गलामा आफ्नो हजुरबुबालाई भेट्न २०६१ जेठ २१ गते हिँडेका नन्दप्रसाद र गङ्गामाया अधिकारी दम्पतीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले हत्या गरेको पीडित पक्षको आरोप छ ।

अधिकारीलाई माओवादी कार्यकर्ताले चितवन जिल्ला रत्ननगर नपा-१ बकुलहरबाट अपहरण गरी लगेकोमा चार घण्टापछि साँझ सोही स्थानमा ल्याएर निर्मम यातना दिएर टाउकोमा गोली हानी हत्या गरेका अभिलेखहरूमा उल्लेख छ । हत्या भएको २० वर्षसम्म पीडित परिवार न्यायको आन्दोलन र अभियानमा निरन्तर रहेपनि दोषीको पहिचान गरी कारवाही हुन सकेको छैन ।

कृष्णप्रसादको हत्या गरेको आरोपमा कारबाहीको माग राखी गोरखा फुजेल निवासी छविलाल पौडेलसहित १२ जनाविरुद्ध बुबा नन्दप्रसाद र दाजु नुरप्रसाद अधिकारीले चितवन जिल्ला अदालतमा उजुरी दिएका थिए । उच्च अदालत पाटनको हेटौँडा इजलासले सशस्त्र द्वन्द्वको समयमा चितवनको बकुल्लहर चोकमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपितलाई ०७७ चैत २९ गते सफाइ दिएको हो ।

सोही उजुरीका आधारमा प्रहरीले लगाएको मुद्दामा जिल्ला अदालत चितवनले ०७५ भदौ २४ गते मुद्दाको सुनुवाइ गर्दै आरोपितहरूले अधिकारीको हत्या गरेको भन्ने प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । आरोपितहरूमध्ये रूद्र आचार्यको हकमा भने मुद्दा तत्कालका लागि मुल्तवीमा रहने भएको छ ।

आचार्य अदालतमा हाजिर भएपछि कानुन अनुसार निर्णय गरिने उल्लेख छ । आचार्यमाथि यस घटनामा गोली हानेको आरोप छ । फुजेल हत्या प्रकरणमा हत्याको आधार नभएको भन्दै १२ जना आरोपितलाई जिल्ला अदालत चितवनले यसअघि नै सफाइ दिइसकेको थियो ।

गङ्गामायाले छोराका हत्यामा संलग्नलाई कारबाही नहुन्जेल आफ्ना पतिको दाहसंस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगन्जमा छ ।

कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण तथा न्यायका लागि पीडितको सङ्घर्ष यात्रा


अनलाइन डेस्क