न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न नागरिक अगुवाको आग्रह

नागरिक समाजका अगुवाहरूले न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् । न्यायापालिका र लोकतन्त्र बचाउ अभियानका क्रममा वैशाख २० गते बसन्तपुरको डबलीमा आयोजित सभामा नागरिक समाजका अगुवाहरूले यस्तो आग्रह गरेका हुन् ।

Photo20170503Ktm3

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधान्यायाधीश सुशिला कार्कीमाथिको महाभियोग गलत प्रयोग भएको भन्दै न्यायालयले फैसला गर्दा आफ्नो विवेक प्रयोग गर्ने बताए । 'न्यायपालिकाको विकल्प केही हुँदैन । आज सत्तामा छु भन्दैमा ती बाघले तपाइँलाई पनि खान सक्छ भनेर नबिर्सनुहोला । देशमा बचेका केही संस्थामध्ये न्यायालयमाथिको हस्तक्षेप विरुद्ध सडकमा ओर्लिन अनुरोध गर्दछु ।'-उनले आग्रह गरे ।

Photo20170503Ktm2

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले प्रधानन्यायधीशमाथि लगाइएको महाअभियोग न्यायापालिकाको अपहेलना भएको उल्लेख गर्दै अपहेलनाको मुद्दा चल्छ कि चल्दैन भनेर प्रश्न गरेका थिए । न्यायापालिका टिमले यस महाभियोग घटनाक्रमलाई गम्भीरताका साथ लिन इन्सेक अध्यक्ष प्याकुरेलले आग्रह गरे ।

Photo20170503Ktm1

त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाएर कलङ्कको टीका लगाउने प्रयास गरेको उल्लेख गर्दै सम्मानपूर्वक उनको पुनर्वाहली गर्न माग गरे ।

Photo20170503Ktm

मानव अधिकारकर्मी कृष्ण पहाडीले गल्ती सबैबाट हुने उल्लेख गर्दै ब्रम्हास्त्र प्रयोग गरेपछि फिर्ता लिन जानेन भने श्रापित जीवन बिताउनु पर्ने बताए । दलहरूले महाअभियोगको दुरुपयोग गरेको उनको भनाइ छ ।

अधिवक्ता इन्दु तुलाधरले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग न्यायापालिकालाई अङ्कुश लगाउने कार्य भएको उल्लेख गर्दै न्यायापालिकाको स्वतन्त्रलाई बचाउने अभियानमा लाग्नु पर्नेमा जोड दिइन् ।


इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ