न्यायलयमा सेवाग्राही एक घण्टाभन्दा बढी पर्खनु नपरोसः प्रधानन्यायाधीश कार्की

  ०७३ पुस १४ गते

अदालतमा जुनसुकै कामका लागि आएका सेवाग्राही तथा पीडितहरू एक घण्टा भन्दा बढी समय कामका लागि बस्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रधानन्यायाधीश सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

photo20161229rolpa

रुकुममा पुस १४ गते आयोजित कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कार्यालयमा पुरानै शैलीमा सेवाग्राहीलाई कुराएर जात्रा गरेको पाइएमा 'राम्रो नहुने' भन्दै बढीमा एक घण्टामा सेवाग्राहीले सेवा पाउने व्यवस्था मिलाउन जिल्ला अदालतका न्यायाधीश तथा कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

'काम चाँडो गर्नु, पीडितलाई राम्रो व्यवहार देखाउनु तपाईँहरूलाई मेरो निर्देशन हो ।'-कार्कीले भनिन् । देशभरका अदालतमा जनशक्तिको अभाव हुन नदिन आफूले प्रयास गरिरहेको बताउँदै उनले अदालतमा आउने बच्चासहितका महिलाहरूका लागि स्तनपान गराउने कक्षको व्यवस्था मिलाउन पनि जिल्ला अदालतको ध्यानाकर्षण गराइन् ।

गाउँबाट आएका तथा ज्येष्ठ नागरिक, महिला, अशक्त (जसलाई न्यायलयको प्रक्रिया थाहा नहुन सक्छ उनीहरूको आत्मसम्मानगर्दै) को काम छिटो गरिदिन भन्दै न्यायाधीश तथा अन्य कर्मचारीहरूलाई प्रधानन्यायाधीशले निर्देशन दिइन् । सबैको सहयोगले समाज न्याययुक्त हुने भएकाले अधिवक्ताहरूले पनि कतिपय समस्यालाई मेलमिलापका लागि पहल गर्नुपर्ने बताइन् ।

राप्ती अञ्चलका दाङ, प्यूठान र रोल्पाका न्यायाधीशहरूलाई निर्देशन दिँदै प्रधानन्यायाधीश कार्कीले भनिन्-'छिटो छरितो तरिकाले उत्कृष्ट न्याय सम्पादन गर्नुहोस् । सबैको चित्त बुझाउनु होस् ।'


आदर्श केसी