न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड

  ०७९ असार २० गते

न्यायिक प्रक्रियामा  जनताको सहज पहुँच हुनु पर्नेमा  नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले  जोड  दिनु भएको छ ।

डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार २० गते नेपालगञ्जमा आयोजित नागरिकको न्यायमा पहुँचका लागि प्रहरी र न्यायिक समितिको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बिष्टले उक्त कुरा बताउनु भएको हो । यस कार्यक्रमले न्यायिक समिति, जनप्रतिनिधि र प्रहरीबिच समन्वय र सहकार्य हुने बिष्टको भनाई छ ।

photo2022070401banke

जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले कानुनको अज्ञानता क्षम्य नहुने बताउदै  कानुनका बारेमा सबैले जानकार हुनु पर्ने बताउनु भयो । न्यायिक समिति र प्रहरीबिच सहकार्य  समन्वय  जरुरी भएको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपानेले न्यायिक प्रक्रियामा प्रहरीले प्रयोग गर्ने प्रचलित कानुन,  बाँके जिल्लाकाे अपराधको अवस्था, मुलुकी ऐन फौजदारी कायविधि २०७४ अनुसूची १ मा भएका कार्य सम्पादनका बारेमा सहजिकरण गर्नु भएको थियो ।

अधिवक्ता सुनिलकुमार श्रेष्ठले न्यायिक समितिको काम, कर्तव्य र अधिकार तथा न्याय सम्पादन गर्दा अपनाउनु पर्ने न्यायका साझा सिद्धान्तको बारे सहजीकरण गरेका थिए । अधिवक्ता श्रेष्ठले न्यायिक समितिले हेरेका, हेर्न मिल्ने र सिफारिस गर्नु पर्ने मुद्दाकाे  अभिलेख राख्न  सुझाव दिनु भयो ।

कोहलपुर नगरपालिकाकी उप–प्रमुखले न्यायको पहुँचमा आउन नसकेकालाई न्यायको प्रक्रियामा आउन सहज बनाउन योजनाका साथ काम गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्लाका नगर तथा गाउँपालिकाका उपाध्यक्ष न्यायिक समितिका सदस्य, जिल्ला र इलाका प्रहरी कार्यालयका प्रहरीहरूको सहभागिता रहेको थियो ।


लक्ष्मी थारू