न्यायको लागि पहल गरिदिनु हुन इन्सेक प्रतिनिधिसँग अनुरोध

गोसाइकुण्ड गाउँपालिका– ५ दुङदीकी २८ वर्षीया कुमारी बिकलले पति २९ वर्षीय कामपासाङ तामाङले घरमा पस्न नदिइ हेला गरेको भन्दै न्यायको लागि पहल गरिदिन इन्सेकका जिल्ला प्रतिनिधिसँग अनुरोध गर्नु भएको छ ।

पीडित कुमारीले गाउँपालिकामा विवाह तथा दुई जना छोरीको जन्मदर्ता र माना चामल भराई पाउनको लागि निवेदन दिएको लामो समयसम्म पनि न्याय नपाएको भन्दै ०७८ असोज १९ गते इन्सेक प्रतिनिधिसँग न्यायको लागि पहल गर्न अनुरोध गर्नु भएको हो ।

उहाँले पतिले ०७२ सालदेखि नै हेला गरेर अपशब्दले बोल्ने, मादक पदार्थ सेवन गरी कुटपिट गर्ने गरेकोले ०७७ पुस २७ गते विवाह दर्ता, छोरा छोरीको जन्मदर्ता र माना चामल भराई पाउन पालिकामा निवेदन दिनु भएको थियो ।

इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले पीडितको पक्षमा न्याय दिन गोसाइकुण्ड गाउँपालिका उपाध्यक्ष करग्याल्मु श्रेष्ठसँग ०७८ असोज २० गते छलफल गर्नु भएको छ । उहाँले पीडित र आरोपित पक्ष बीच छलफल भए पनि मिलापत्र हुन नसकेको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले यस अघि दुई पटक न्यायिक समितिमा छलफल भएको भए पनि कहिले कुन पक्षको कहिले न्ययिक समितिका सदस्यहरूको समय नमिल्ने तथा हाल कोभिड–१९ को कारण ढिलाई भएको स्वीकार गर्दै सम्बन्ध बिच्छेद गर्न र सम्पत्ति दिन पति तयार नहुने साथै पीडितले २० लाख मागदावी गरेको श्रेष्ठले बताउनुभयो ।

पीडितले दिएको निवेदनका बारेमा भएको छलफलमा अहिले वर्षातले बाटो अवरुद्ध भएकोले न्यायिक समितिको बैठक समयमा राख्न नसकेको र पक्षहरू सम्पर्कमा नआउने समस्या रहेकोले कार्तिक महिनामा पुनः न्ययिक समितिमा छलफल गर्ने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उनीहरूको ०६९ मङ्सिर १६ गते प्रेम विवाह भएको र विवाहपछि काठमाडौँमा बस्दै आएका थिए । पति पत्नी दुवै जना ०७२ को भूकम्पपछि गाउँमा आएका थिए । गाउँमा छोडेर पति काठमाडौँ गएपछि उनी पनि काठमाडौँ गएकी थिइन् ।

तर, पतिले ०७२ असार ४ गते काठमाडौँमा मादक पदार्थ सेवन गरी राती कुटपिट गरेको तथा अपशब्दले गाली गरेपछि काठमाडौँ स्थित महानगरिय प्रहरी वृत्त बालाजु निवेदन दिएपछि दुवै पक्षबीच छलफल तथा मिलापत्र भएको थियो ।

कोभिड–१९ को महामारीको समयमा खर्च अभाव भएपछि गर्भवती अवस्थामा ०७७ वैशाखमा घरमा आउँदा घरका परिवारले घरमा पस्न नदिएपछि छोरी सहित माइतमा बसेको र ०७७ कात्तिकमा कान्छी छोरीको जन्म भएको सुत्केरी अवस्थामा समेत पतिले वास्ता नगरेको बिकले बताउनुभयो ।

आफु तथा नाबालक दुई जना छोरीलाई माना चामल तथा आवश्यक खर्च दिलाइ भराइ पाउ भनि गाउँपालिकामा ०७७ फागुन १४ गते फिरादपत्र पेस भएकोमा न्यायिक समितिमा मेलमिलाप प्रयासका क्रममा  पति तामाङले ०७७ फागुन २९ गते आफ्नो कुनै आम्दानी नभएकोले माना चामल र खर्च दिन नसक्ने बयान गरेको पीडितले बताइन् ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा