न्यायको खोजीमा घरेलु हिंसापीडित महिला

  ०८० वैशाख ४ गते

तिला गाउँपालिका– १ रारालिहीकी २७ वर्षीया शान्ति नेपाली १० वर्षे छोरा साथमा लिएर न्याय खोज्दै जिल्ला सदरमुकाम खलंगा बजार पुग्नु भयो । ३५ वर्षीय पति जँग नेपालीले घरेलु हिंसा गर्न थालेपछि न्यायको खोजीमा उहाँ प्रहरी कार्यालय, अदालत, वकिल कार्यालय खोज्दै खलंगामा पुग्नु भएको हो । ग्रामिण भेगका निरक्षर महिला, अण्डा अदालत कहाँ छ । प्रहरी प्रशासन कहाँ छ । सहयोगीको भरमा सम्बन्धित निकायमा पुग्दछन् ।

०६५ सालमा सामाजिक परम्पराअनुसार विवाह गरेकी उहाँका १३ वर्षीया एक छोरी र १० वर्षीय एक छोरा छन् । मदिरा सेवन गरी निरन्तर घरेलु हिंसा गर्न थालेपछि न्यायालयको ढोका ढकढक्याउन पुगेको पीडित नेपालीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पतिलाई सुधार्नका लागि धेरै कोसिस गरे पनि मदिरा सेवन गर्न छाडेनन् । गाउँबस्तीमा भद्रभलादमी, स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रहरी चौकीमा मिलापत्रका लागि धेरै प्रयास गरियो । अब यस्तो दुख दिदैन । मदिरा सेवान पनि गर्दैन भनेर पनि भन्ने तर २/३ दिन रक्सी नखाने पछि फेरी खाएर उस्तै दुख्ख दिने । मदिरा सेवन गरेर छोराछोरीलाई समेत कुटपिट गर्छन् । हातमा जे भेट्यो, त्यसैले हिर्काउँछन् ।’ घरमा जग्गा जमिन पनि कमै छ । उत्पादनले ४/५ महिना मात्रै खान पुग्छ । बालबच्चाको लुगाफाटो, पालनपोषण, स्वास्थ्य शिक्षाका लागि ज्यालामजदुरी गरेर ल्याएको पैसा पनि लिएर रक्सी खाईदिने गरेको शान्तिले बताउनु भयो ।

ज्यान बचाउनै मुस्किल भएपछि ०७९ फागुन २० गतेदेखि दिदी मनशोभा परियारको घरमा आश्रय लिँदै आएको उहाँले बताउनु भयो । ‘पतिदेखि आजित भएर सम्बन्धविच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०७९ चैत २७ गते मुद्दा दर्ता गरेको छु,’ उहाँले भन्नुभयो । पैसा दिएर वकिललाई मुद्दा लेखाउन हैसियत नभएकाले वैतनिक वकिल देवीबहादुर सेजुवालको सहयोगमा मुद्दा दर्ता गएिको हो । वैतनिक वकिलसँग इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले समन्वय गरी दिनु भएको हो । वैतनिक वकिलले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन सुझाए पनि शान्तिले सम्बन्धविच्छेदको मुद्दा मात्रै दर्ता गर्नुभयो । अंश लिएपछि सम्बन्धविच्छेदपछि पनि असुरक्षाको त्रास हुने उहाँलाई आशंका छ । ‘अंश केही पनि चाहिँदैन । पतिबाट छुटकारा पाउन पाए भइगयो । बरु दुई छोराछोरीलाई मैले नै हुर्काउन पाउँ । बालबच्चालाई छोड्न सक्दिनँ । छोडेँ भने बच्चाले धेरै दुःख पाउँछन्,’ उहाँले भन्नुभयो ।

गुठीचौर गाउँपालिका– ३ गज्याङकोटकी ३२ वर्षीया देवकी कामी बच्चा काखी च्यापेर सदरमुकाम खलंगा पुग्नु भयो ।  २६ वर्षीय बागबहादुर सुनारले ०७९ चैत ६ गते दोस्रो विवाह गरेपछि न्याय खोज्दै खलंगा पुग्नु भएको हो । चन्दननाथ नगरपालिका – १ तलिचौरकी २६ वर्षीया बेलमाया नेपालसँग दोस्रो विवाह गरेको उहाँले बताउनु भयो । पीडित देवकीले भन्नुभयो पतिले दोस्रो विवाह गरेपछि जिल्ला प्रहरी कार्यालयमा चैत १७ गते बहुविवाहसम्वन्धी उजुरी दर्ता गरेको छु । पति बागबहादुरसँग ०७४ मंसिर १७ गते सामाजिक परम्पराअनुसार विवाह गरेकी उहाँको एक छोरा छ । घरमा पत्नी र छोरा हुँदाहुँदै अर्काे विवाह गरी हिंसासमेत गर्ने गरेको देवकीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उजुरी त गरियो । तर, असुरक्षाको त्रास हुने गरेको छ । कतै एकान्तमा मार्ने हो कि भन्ने डरत्रास हुने गरेको छ ।’

यी दुई घटना प्रतिनिधिमुलक घटना मात्रै हुन् । महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रुपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आएको छैन । महिलाविरुद्धको अन्याय, विभेद र हिंसाको अन्त्य गर्न सशक्त नागरिक आवाज र जिम्मेवार तथा जबाफदेही कानुन कार्यान्वन गर्ने निकायको आवश्यकता छ ।

महिला तथा घरेलु हिंसामा परेर न्याय खोजीमा आउने धेरै महिला रहेको अल्पकालिन महिला सेवा केन्द्रकी प्रमुख लक्ष्मी कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो हाम्रो सम्पर्कमा पनि धेरै महिला आउने गरेका छन् । घरेलुहिंसा पीडित महिलालाई ७–१० दिन हाम्रो सेफ हाउसमा राखेर कानुनी उपचारका लागि पहल गर्ने गरिएको छ । धेरैजसो आर्थिक अवस्था कमजोर भएका महिलाहरुले न्यायको खोजीमा आउने गरेका छन् । जिल्लाका सरोकारवाला निकाय चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, प्रहरी प्रशासन, इन्सेकले गठन गरेका मानव अधिकार रक्षक सञ्जाल, सिफारिस संयन्त्र, आवाज, पत्रकारसहित समन्वय गरी हिंसा पीडित महिलालाई कानुनी उपचारका लागि पहल गर्ने गरिएको उहाँले बताउनु भयो ।

हिंसा पीडित महिला बालबालिका न्यायको खोजीमा सदरमुकाम आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनु भयो । उहाँले भन्नुभयो जिल्लास्थित सरोकारवाला निकायको समन्वयमा कानुनी उपचारको व्यवस्थापन गर्ने गएको छ । गएको फागुन महिनाको पहिलो साता एक जना गर्भवती बालिकालाई उद्धार गरेर सुर्खेतस्थित आवाज आवासगृहमा पठाएका छौँ । बालिका गर्भवति बनाउने व्यक्ति पहिचान भईसकेको छ । कानुनी कारवाही प्रक्रिया पनि अघि बढाएका छौँ ।

जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले पैसा र पहुँचबिना न्याय पाइँदैन भन्ने मानसिकता महिला मात्रै नभएर सबैले हटाउनुपर्ने बताउनु भयो । “पैसा नभएर न्याय रोकिएको अवस्था छैन,” यसो भन्दाभन्दै पनि उहाँले थप्नु भयो, “कहीँ कतै न्यायका लागि अदालत आएका महिलाहरूका एक दुई घटना त्यस्तै पर्न गएको हुन सक्छ ।”
श्रीमान् र उनका परिवारका सदस्यहरूबाट भइरहेको बारम्बारको दुर्व्यवहार, हिंसा र ज्यानै मार्ने धम्कीका कारण कमजोर अवस्थामा हिंसा पीडित महिला अदालतमा पुग्ने गरेको उहाँले बताउनु भयो । श्रेस्तेदार रेग्मीका अनुसार अदालतमा कानुनी सहायता समिति पनि छ । जिल्ला अदालतमा वैतनिक वकिलको व्यवस्था गरिएको छ । पीडितहरू आएर आफ्नो आर्थिक अवस्थाको बारेमा बताएपछि सरकारी वकिलले आफैँ मुद्दा लेखिदिनेसमेत व्यवस्था रहेको छ ।

“वैतनिक वकिल भनेको अदालतबाटै राखिएको र तलब पनि अदालतले दिने हो । वैतनिक वकिलले न्याय माग्न आएका पीडितलाई निःशुल्क कानुनी सेवा दिने हो,” रेग्मीले भन्नुभयो । उनीहरु जस्तै धेरै महिलाले यस्तो व्यवस्थाका बारेमा सूचना नपाएर पनि न्यायको पहुँचमा नआएका हुनसक्ने उहाँले बताउनु भयो । साथै, संविधानदेखि राज्यस्तरमा महिलाका मुद्दाको लागि विशेष कानुन निर्माण भएकाले अदालतले पनि त्यसैमा टेकेर महिलाका मुद्दालाई सुनुवाइ गर्ने गरेको उहाँको दाबी छ ।

जिल्ला अदालतमा पहिलेको तुलनामा अहिले महिलाका मुद्दा आउन थाले पनि पुरुषभन्दा कमै रहेको पनि श्रेस्तेदार रेग्मीले बताउनु भयो । उहाँका अनुसार, जुम्ला जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेका छन् ।


मानदत्त रावल