न्यायका लागि पहल गरी दिन राष्ट्रिय महिला आयोगलाई इन्सेकको ज्ञापनपत्र

  ०७९ वैशाख १५ गते

राष्ट्रिय महिला आयोग अध्यक्ष कमला पराजुलीलाई वैशाख १५ गते इन्सेकले ज्ञापनपत्र बुझाउँदै खोटाङमा रहस्यमय ढङ्गले मारिएका एक जना बालिका र दुई जना महिलाको परिवारलाई न्यायका लागि पहल गरीदिन आग्रह गरेको छ ।

राष्ट्रिय महिला आयोगले दिक्तेलमा वैशाख १५ गते आयोजना गरेको बाल विवाह, प्रजनन् स्वास्थ्य र गर्भपतनका विषयमा सचेतनामूलक कार्यक्रममा अवसरमा इन्सेक खोटाङ प्रतिनिधिले राष्ट्रिय महिला आयोग अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै न्यायका लागि पहल गरीदिन आग्रह गर्नु भएको हो ।

इन्सेकको ज्ञापनपत्र बुझ्दै महिला आयोग अध्यक्ष पराजुलीले पीडित परिवारलाई न्याय दिलाउनका लागि आयोगले पहल गर्ने बताउनु भयो ।

इन्सेकले बुझाएको ज्ञापनपत्रमा जिल्लाको खोटेहाङ गाउँपालिका लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङको ०७३ माघ २६ गते हत्या भएको विषयमा पीडित परिवार न्यायको वर्षौदेखि न्यायको पर्खाइमा रहेको उल्लेख छ ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको  २०७४ साउन ४ गते र हलेसी तुवाचुङ नगरपालिका–७ महादेव स्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको वि।स।२०७४ जेठ १६ गते शङ्कास्पद हत्या घटनामा पीडित परिवार अझै न्यायको आशामा बसेको र घटना भएको पाँच वर्ष बितेपनि घटनाका दोषीको हालसम्म पत्ता नलाग्नु र कानुनी कारबाहीको प्रक्रिया अघि नबढेकाले पीडित परिवारले न्याय प्राप्त नगरेको भन्दै पहलका लागि आग्रह गरिएको छ ।

बालिकासहित तीन जनाको यौनजन्य घटनापछि हत्या भएको तत्कालीन प्रमाणका आधारमा पीडित परिवारलाई न्याय दिलाउनु राज्यको प्रमुख जिम्मेवारी भएको इन्सेकले ज्ञापनपत्रमार्फत स्मरण गराएको छ ।

हत्या जस्तो जघन्य घटना भएको वर्षौ बितेपनि घटनाका दोषीलाई पहिचान गरी जिम्मेवार निकायले कानुनको पालना के कसरी गरीरहेका छन् ? भन्ने अवस्था सिर्जना भएको छ, इन्सेकले महिला आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

घटनाको वस्तुनिष्ठ छानबिन गरी पीडित परिवारलाई न्यायसहित आम नागरिकलाई राज्य र मानव अधिकारको प्रत्याभूति दिलाउन इन्सेकले ज्ञापनपत्रसाथ नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहेको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८, नेपालको संविधान २०७२, नेपाल पक्ष राष्ट्र भएका बालअधिकारसम्बन्धी महासन्धी सन् १८७९ र महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धी सन् १९७९ मा उल्लेख भएबमोजिम कानुन व्यवस्थाहरूको परिपालना गरी राज्यको प्रत्याभूत आम नागरिकले गर्न पाउने वातावरण निर्माणका लागि ज्ञापनपत्रमार्फत इन्सेकले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

photo 20220428 Khotang (2)

photo 20220428 Khotang (8)


तारानाथ फुयल