न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

  ०८० माघ १२ गते

तत्कालीन विद्रोही नेकपा माओवादीले घरबाट थुतेर हत्या गरेका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका नेत्रबहादुर दङ्गालका छोरा अमृत बहादुर दङ्गालले न्यायका लागि पहल गरिदिन ०८० माघ १२ गते इन्सेकसमक्ष आग्रह गनुभएको छ ।

तत्कालीन इर्खु गाविस-१ हाल चौतारा सागाचोकगढी नगरपालिका-८ का ६८ वर्षीय नेत्रबहादुर दङ्गाललाई ०५८ पुस ११ गते घरमा बसेकै अवस्थामा तीन जना माओवादी कार्यकर्ता आएर कुराकानी गर्नु छ भनेर बोलाएर गएकोमा घरभन्दा केही पर लगेर गोली हानी हत्या गरेका थिए । मृतक दङ्गाललाई माओवादीले सुराकीको आरोप लगाएर हत्या गरेका थिए । उहाँ नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो ।

'द्वन्द्वको सरोकार नराख्ने हामी सर्वसाधारणलाई बिना कारण हत्या गरेर तत्कालीन विद्रोही नेकपा (माओवादी) ले ठूलो अपराध गरेको छ । अपराध गर्नेलाई कानुनी कारबाही गरेपछि मात्र हामी परिवारले न्याय पाउने छौँ', अमृतबहादुर दङ्गालले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

न्याय पाउनको लागि ०७४ सालमा स्थानीय शान्ति समितिमा निवेदन गरेको साथै ०७५ सालमा सत्य निरुपण आयोगमा समेत उजुरी दिएको तर पीडितहरूले हालसम्म न्याय नपाएको अमृत दङ्गालको भनाई छ ।

घरमा बसिरहेका आफ्ना बुबालाई कुराकानी छ भन्दै बोलाएर घरभन्दा केही पर लगेर हत्या गर्ने व्यक्तिहरू आफूले चिनेको भन्दै बुबाको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको गरी आफूलाई न्यायको लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह गरेको उहाँले बताउनु भयो ।

Photo_080-10-12_Sindhupalchok


नातिबावु धिताल