नौ वर्ष अघिको विनाशकारी भूकम्पमा बेपत्ता भएका ४३ जनाको अवस्था अझै अज्ञात

  ०८१ वैशाख १२ गते

२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा बेपत्ता भएका ४३ जना ब्यक्तिहरूको अवस्था अज्ञात नै छ । घटना भएको नौं वर्ष बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलाग्दा बेपत्ता परिवार अन्यौंलमा छन् ।

चौतारा सागाचोकगढी नपा–७ की चार वर्षीया अस्मी तमाङ ०७२ बैशाख १२ गते भूकम्प आउँदा आफ्नै घरको आगनमा खेलिरहेकी थिइन्, भूकम्पले घर भत्कियो, घरको आगनमा खेलिरहेकी बालिका हालसम्म फेला परिनन् । बेपत्ता छोरीको खोजीका लागि १५ दिनसम्म भत्केको घर खोतल्ने काम बाँचेका परिवारका सदस्यले भरिसक्य गरे । तर, फेला पार्न नसकेको आमा सुस्मिता तमाङले बताउनुभयो ।

त्यसैगरी चौतारा सागाचोकगढी नपा–७ की ६ वर्षीया अनुषा तमाङ पनि बैशाख १२ को भूकम्पमा बेपत्ता भइन् । बेपत्ता छोरीको खोजीका लागि सहयोग माग्दै बुबा लोकबहादुर तमाङ जिल्ला प्रहरी कार्यालय सम्म पुगे । तर पनि छोरीको खवस्था पत्ता नलागेको तमाङको भनाइ छ ।

2२०७२ बैशाख १२ गतेको भूकम्पले घर भत्किएपछि त्रिपाल लिन बैशाख १३ गते कात्तिके बजार गएका जुगल गाउपालिका–४ का ६५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ पनि घर फर्केनन् । बैशाख १३ गतेको पराकम्पनले बुबा बेपत्ता भएको छोरा सुमन श्रेष्ठले बताउनुभयो ।

बाख्रा चराउन ०७२ बैशाख १२ गते जङ्गल गएका थाम्पालकोट गाउँपालिका–२ का ३१ वर्षीय नरे तमाङ पनि बेपत्ताकै अवस्थामा छन् । आफूले खोजि गर्दा पत्ता नलागे पछि बेपत्ताका दाजु साहिला तमाङले इलाका प्रहरी कार्यालय मेलम्चीमा बेपत्ता आफन्तको खोजिका लागि अनुरोध गरे । तर पनि खोजि हुन सकेन । उनि भूकम्प आउदा थाम्पालकोट—२ मा गएको सुख्खा परिरोमा पुरिएको आशंका गरिएको छ ।

गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर ०७२ सालमा गएको विनाशकारी भूकम्पले ३० ओटाभन्दा बढी जिल्लामा क्षति पुगे पनि सबैभन्दा बढी जन धनको क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो ।

सो भूकम्पमा परेर सिन्धुपाल्चोक जिल्लामा ३ हजार ५ सय ६२ जनाको मृत्यु भयो । त्यसैगरी १ हजार ५ सय ६९ जना घाइते भएका थिए । घाइतेहरू हाल शारिरिक रुपमा केहिन केहि अपांग भएर बाच्नु परेको छ । भूकम्पका कारण ४३ जना ब्यक्ति हालसम्म बेपत्ताकै अवस्थामा छन् । उनिहरूको खोजि तलासी गर्दा पनि पत्ता लाग्न सकेको छैन ।

1

भूकम्पले जिल्लाका ६६ हजार निजि आवास, ५ सय ४७ ओटा विद्यालयहरू, ४ सय २६ ओटा मठमन्दिरहरू, २ सय ६ ओटा गुम्बा, ७५ ओटा स्वास्थ्य सस्था, ४१ ओटा सरकारी कार्यालय र २५ ओटा प्रहरी कार्यालयहरू भत्किएर ध्वस्त भएका थिए ।

भूकम्पले १० हजार ३ सय ७३ परिवार बिस्थापित भएका थिए । बिस्थापित भएकाहरू मध्ये अधिकांश स्थायी रुपमा घर फर्केनन् । भूकम्पबाट भत्किएका कतिपय प्रहरी चौकी, गुम्बा र मठ मन्दिरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् ।

भत्किएका संरचनाहरू समयक्रम सँगै पुनःनिर्माण होलान् । मृत्यु भएका ब्यक्तिहरूको पनि सनाखत भएर धर्म सस्कृति अनुसार सत्गत गरि काजक्रिया पनि आफन्तले गरे । तर बेपत्ता भएका ब्यक्तिहरूको परिवारमा सम्झना र पीडा यथावत नै रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले बताउनुभयो ।


नातिबावु धिताल