नौ वर्षदेखि टहरामै छ चिलङ्खाको स्वास्थ्य चौकी

  ०८० पुस ६ गते

बिगु गाउँपालिका-५, चिलङ्खामा नवनिर्मित स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए पनि बिद्युत लाईन (ट्रास्मिटसन लाईन) जडान गर्न नसकेपछि स्वास्थ्य चौकी नौ वर्षदेखि टहरामै सञ्चालन भइरहेको छ ।

२०७२ सालको भूकम्प पश्चात् निर्माण गरिएको जस्तापाताको टहराबाटै हालसम्म स्वास्थ्य सेवा दिइरहेको छ । निर्माण व्यवसायीले गत दशैँको समयमा हस्तान्तरण गर्ने सम्झौता थियो तर अहिलेसम्म हस्तान्तरण नगरेको चिलङ्खा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद नगरकोटीले बताउनु भयो ।

भूकम्पपछि सोही वडाको ढाकरेबोटमा स्वास्थ्य चौकीका लागि नवनिर्मित भवन निर्माण व्यवसायीले समयमै हस्तान्तरण गर्न नसकेपछि टहराबाटै स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकी इन्चार्ज प्रमोद नगरकोटीले जानकारी दिनुभयो । जसका कारण सुत्केरी गराउन, क्षयरोगको बिरामीलाई औषधि वितरण, खोप कार्यक्रम, परिवार नियोजन र दैनिक चेक जाँचमा समस्या भोग्दै आएको इन्चार्ज नगरकोटीले बताउनु भयो ।

यही आर्थिक वर्ष साउनदेखि हालसम्म नौ जनालाई सुत्केरी गराइएको इन्चार्ज नगरकोटीको भनाइ छ । स्वास्थ्य चौकीको संरचनामा निर्माण भएको भवनमा सर्न नसकेकै कारण दुई कोठे घर भाडामा लिएर वर्थिङ सेन्टर सञ्चालन गरिरहेको नगरकोटीको भनाई छ । रातिको समयमा वर्थिङ सेवा लिन आउनेले समयमा स्टाफ भेट्न पनि गाह्रो भइरहेको छ । दुई कोठे भवनमा वर्थिङ स्टाफ बस्ने व्यवस्था नहुँदा घर-घरमा बोलाउन जानु पर्ने बाध्यता सेवाग्राहीले भोग्दै आएका छन् ।

टहरोमा सञ्चालित स्वास्थ्य चौकीको लागि दुई कोठे भवन भाडामा लिए बापत गाउँपालिकाले मासिक तीन हजार भाडा तिर्दै आएको छ । इन्चार्ज नगरकोटीका अनुसार यस स्वास्थ्य चौकीले अहिले पनि दैनिक १५ जनाभन्दा बढीलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । दशैँ अघि नै भवन निर्माण कार्य सम्पन्न भएकाले निर्माण व्यवसायीलाई हस्तान्तरणको लागि आग्रह गर्दै आएको बिगु गाउँपालिका-५ का वडा अध्यक्ष कर्म (काले) शेर्पाले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीलाई हस्तान्तरण गर्नको लागि पटक-पटक आग्रह गर्दा पनि नयाँ ट्रान्समिटर लाइन जडान गरेपछि मात्र हस्तान्तरण गर्ने निर्माण व्यवसायीले जानकारी दिएको वडा अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो । यो वडा मात्र नभएर अन्य वडाका भवन पनि निर्माण व्यवसायीले समयमा हस्तान्तरण नगरेको वडा अध्यक्ष शेर्पाले बताउनु भयो ।

स्वास्थ्य चौकी निर्माण कार्य सम्पन्न भएको नौ महिना भइसकेको तर निर्माण व्यवसायीले कामदारको ज्याला नदिएको गुनासो स्थानीय तहमा आएको हुँदा समयमा नवनिर्मित भवनमा सर्न नसकेको बिगु गाउँपालिकाको उपाध्यक्ष देविका थामीले बताउनु भयो । दुवै पक्षलाई राखी वास्ताविकता बुझेर भवन हस्तान्तरण चाँडै नै गर्ने उपाध्यक्ष थामीले जानकारी दिनुभयो ।

Photo_080-9-6_Dolakha


उद्धव पाखरेल