नौ वर्षदेखि ज्याला नपाएको मजदूरको गुनासो, प्रशासनमा निवेदन

  ०७६ पुस ९ गते

सिद्धिचरण नगरपालिका–२ स्थित उमा कट्वाल क्याम्पसको भवन निर्माणका लागि काम गरेका मजदूरहरूले ज्याला नपाएको गुनासो गरेका छन् । भवन निर्माणका लागि ९ वर्ष अघि ज्यामी काम गरेका १५ जना मजदूरले ज्याला नपाएको गुनासो गरेका हुन् ।

भारतीय दूतावासको अनुदानमा ०६७ सालमा निर्माण थालिएको भवन निर्माणको काम अलपत्र छ भने दूतावासबाट रकम निकासा नभएपछि मजदूरको ज्याला समेत ठेकेदारले भुक्तानी गरेको छैन । ज्यालामा काम गरेका दुई जना मजदूरको भने ज्याला नपाउँदै मृत्यु भइसकेको छ ।

गिट्टी कुट्ने काम गरेका सिद्धिचरण नगरपालिका – २ का डल्ले सार्की र सोही ठाँऊका काजी सार्कीको ४ वर्ष पहिले ज्याला नै नपाई मृत्यु भइसकेको स्थानीय श्याम कट्वालले बताउनुभयो । कटुवालले ठेकेदारले अरू १५ जना मजदूरको १० लाख रूपियाँ बढी ज्याला भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।

ठेकेदारले मजदूरहरूलाई पारिश्रमिक नदिएर श्रम ऐन २०७४ को उल्लङ्घन गरेको पत्रकार रामहरि श्रेष्ठले बताउनुभयो । उक्त ऐनका दफा ३५ को उपदफा १ मा पारिश्रमिक दिने सम्बन्धी व्यवस्था छ । ऐनको उपदफा १ को क र ख मा एक महिनाभन्दा कम अवधि काम गर्ने श्रमिकलाई काम समाप्त भएको मितिले तीन दिनभित्र, र आकस्मिक काम गर्ने श्रमिकलाई काम समाप्त हुनासाथ भुक्तानी दिनु पर्ने व्यवस्था छ । तर, मजदूरले काम गरेको नौ वर्ष बिते पनि अझै पारिश्रमिक नपाउनु गम्भीर विषय भएको पत्रकार श्रेष्ठको भनाइ छ ।

ऐनमा व्यवस्था भए पनि पारिश्रमिक लामो समयसम्म नपाएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा उजुरी गरेको मजदुर कुमार सार्कीले बताउनुभयो । सार्कीले ०७६ असोजमा ज्याला दिलाई पाँऊ भनी निवेदन दिएको बताउनुभयो । निवेदनपछि जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनी विरूवा पुष्पाञ्जली जेभीका प्रतिनिधी बोलाएर काम पुरा गर्न र मजदुरको ज्याला दिन निर्देशन दिएको जानकारी दिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि बबी श्रेष्ठले दूतावासबाट काम अनुसारको रकम भुक्तानी नआएकाले समस्या भएको बताउनुभयो । उहाँले रकम भुक्तानी पाउनासाथ मजदूरलाई ज्याला दिन आफु तयार रहेको बताउनुभयो । मजदुरको निवेदन र उक्त आयोजनाबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ठेकेदारले गरेको उजुरीलगायतका विषयमा प्रमुख जिल्ला अधिकारी, पत्रकार र इन्सेक प्रतिनिधिले ०७६ पुस ४ गते अनुगमन गरेका छन् ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भन्नुभयो ‘ठेकेदारलाई बोलाएर कुरा गर्दा भारतीय दूतावासले समयमा काम नगरेको भनेर रकम भुक्तानी नगरेको देखियो,  ठेकेदारले काम अनुसारको रकम नपाएको भन्दै मुद्दा हालेको रहेछ ।’

काम सक्ने र रकम पनि भुक्तानी गराउन दूतावासमा पहल गर्ने काम भइरहेकाले मजदूरको रकम पनि भुक्तानी गर्न ठेकेदार सहमत भएको आचार्यले जानकारी दिनुभयो ।

पत्रकार र इन्सेक प्रतिनिधिले मजदूरको ज्याला भुक्तानी गर्न र भवन निर्माण चाँडो सम्पन्न गर्न निर्माण सम्बद्धपक्षलाई आग्रह गरेका छन् । भवन अभावमा उक्त क्याम्पस भाडामा सञ्चालन भइरहेको छ ।


शिवप्रसाद ढुङ्गाना