नौ महिनासम्म पनि गुनासो सम्बोधन नभएको भुकम्प पीडितहरूको गुनासो

वास्तविक भूकम्प पीडित भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भरेकाहरूको गुनासो नौ महिना बित्दा समेत सम्बोधन हुनसकेको छैन । लाभाग्राही सूचीमा नाम समावेश नभएको भन्दै जिल्लाका १२ हजार ३ सय २२ जना भुकम्प पीडितले गुनासो फर्म भरेका छन् ।

गत वर्षको भदौ पहिलो सातादेखि कात्तिक मसान्तसम्म गुनासो फर्म भरेका भुकम्प पीडितहरूको पुनः जाँच तथा छुट सर्वेक्षण भएको थियो । 'गुनासो फर्म भरेपछि नाम आउँछकी भन्ने आश हुँदो रहेछ ।'-आरूघाट गाउँपालिका स्थित आर्खेतकी टिकादेवी मुटवरीले भनिन् ।

प्राविधिकहरूले गुनासो फर्म भरेकाहरूको घरघरमै पुगेर घरको तस्वीर लिएर गएका छन् । गुनासो फर्म भरेकाहरूको फाइल पुनर्निर्माण प्राधिकरणको केन्द्रमा पुगेर रोकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालयले जनाएको छ ।

गुनासो फर्म भरेकाहरूको सर्वेक्षण भएपछि पनि जिल्लाका थप २ हजार २ सय ६२ जना पीडितले आफूहरूको नाम छुट भएको भन्दै पुनः निवेदन दिएका छन् । लाभग्राही सूचीमा नाम समावेश भएकाहरूले धमाधम घर बनाइरहँदा छुट भएका भुकम्प पीडित भने अलमलमा परेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयका सुब्बा शिव पौडेलका अनुसार गुनासो सम्बोधन अन्तिम चरणमा पुगेको छ । पौडेलले केही दिनमै गुनासो फर्म भरेकाहरूको सम्बोधन गरिने बताए ।


हरिराम उप्रेती