नौबस्ता बालसुधार गृहबाट दुई जना बालबन्दी फरार

  ०८१ मङ्सिर १४ गते

बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहबाट दुई जना बालबन्दी ०८१ मङ्सिर १२ गते फरार भएका छन् ।

बालसुधार गृहको एउटा ब्लकबाट साँझ अर्काे ब्लकमा सार्ने क्रममा १२ जना बालबन्दीहरू भागेका थिए । जसमध्ये १० जनालाई बालसुधार गृहको आसपासबाट भाग्दै गरेको अवस्थामा गिरफ्तार गरिएको नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका प्रमुख श्याम रानाले बताउनु भयो । बाँकी १९ वर्षीय दिनेश बुढा र २० वर्षीय सुरज गुरुङ अझै फरार रहेको बालसुधार गृह प्रमुख रानाले जानकारी दिनुभयो ।

बालसुधार गृह नौबस्तामा हाल १६ जना बालबन्दी थिए भने १२ जना भागेको मध्ये १० जना गिरफ्तार गरी सकेकाले हाल १ सय १४ जना बालबन्दी त्यहाँ रहेको बताएका छन् । त्यस्तै ०८१ कात्तिक २६ गते बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहबाट तीन जना बालबन्दी फरार भएका थिए ।

बालसुधार गृह सुरक्षाका लागि सशस्त्र प्रहरीको नेतृत्वमा ३० जना र नेपाल प्रहरी २५ जना गरी ५५ जना सुरक्षाकर्मी व्यवस्थापनमा खटाए पनि पटक पटक बालबन्दीहरूबीच झडप हुने भाग्ने गरेका छन् । फरार बालबन्दी विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।


ध्रुबराज शर्मा