नौकुण्ड गाउँपालिकाभर स्वास्थ्यकर्मी अभाव

कर्मचारी समायोजनका कारण दुई महिनाअघि नौकुण्ड गाउँपालिकाबाट ११ जना स्वास्थ्यका कर्मचारी सरूवा भएर गएपनि अहिलेसम्म एक जना पनि सरूवा भएर नआउँदा स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा नपाएको स्थानीयको गुनासो छ ।

जिल्लाभरकै धेरै जनसङ्ख्या भएको र ६ ओटा भएको नौकुण्ड गाउँपालिकामा दुई महिनादेखि दक्ष स्वास्थ्यकर्मी अभावका कारण यहाँको बर्थिङ सेन्टर सञ्चालनमा कठिनाइ भएको छ ।

गाउँपालिकाको पा¥च्याङ, यार्सा, भोर्ले, स¥स्युँ, लाङबुमा स्वास्थ्य संस्था छ । स्वास्थ्य संस्थाहरूमा सेवा दिने कर्मचारी अभाव भएकोले समस्या गरेको बताउँदै सरूवा भएर जाने मात्र भए ११ जना सरूवा भएर गएपछि लोक सेवा आयोगमा माग गरेपनि हालसम्म स्वास्थ्यकर्मी नपाठाएर कर्मचारी अभाव भएको नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयो ।

दक्ष स्वास्थ्यकर्मी नहुँदा सुत्केरी गराउने महिला तथा अन्य स्वास्थ्य सेवा लिन आउनेहरू समस्यामा परेको उनले बताइन् ।

गाउँपालिकाबाट हेल्थ असिस्टेन्ट, अहेव, स्टाफ नर्स, अनमी सरूवा भएपछि केही करारका केही अनमीले संस्था खोलेर सेवा दिएको गाउँपालिकाले जनाएको छ ।

दक्ष स्वास्थ्यकर्मी अभावले गाउँमा स्वास्थ्य सेवा नपाएर दिनभर हिँडेर कालिका गाउँपालिकाको जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्रमा धाउनु परेको यार्साका सेवाग्राही फिन्जो तामाङले बताउनुभयो ।

विगत पाँच वर्षदेखि तीन स्थानमा बर्थिङ सेन्टर सञ्चालन भएको थियो । कर्मचारी अभावमै भएपनि चलिरहेको बर्थिङ सेन्टरले दिइरहेको सेवा प्रभावित भएको यार्साका नेकोर तामाङले गुनासो गर्नुभयो ।

‘गर्भवतीको स्वास्थ्य परीक्षणदेखि औषधि उपचारमा समस्या परेको छ ।’–उहाँले भन्नुभयो । स्वास्थ्य मन्त्रालयमा कर्मचारी माग गरिएको र कर्मचारीको व्यवस्था हुनासाथै सबै स्वास्थ्य उपचार सेवा तथा बर्थिङ सेन्टर तत्काल सुचारू हुने नौकुण्ड गाउँपालिका उपाध्यक्ष लामाले बताउनुभयो ।


हेमनाथ खतिवडा