नौकुण्ड अस्पताल निर्माणमा ढिलाई, स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने

नौकुण्ड अस्पताल निर्माणमा ढिलाई भएका कारण स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेको छ ।

सरकारले ०७७ मङ्सिर १५ गते ३ सय ९६ वटा अस्पतालको सिलान्यास गरेको थियो । जसमा रसुवामा दुई ओटा अस्पताल निर्माण थालनी भएको थियो ।

नौकुण्ड गाउँपालिकामा पाँच सैया स्थानीय अस्पताल निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउनुभयो । क्रमागत योजना अन्तर्गत वर्षेनी बजेट आउने र भवन थप निर्माणको काम भइरहेको छ । यसवर्ष भने सरकारले कम बजेट पठाएकोले निर्माण थालनी भएको तीन  वर्षमा पनि पुरा हुन सकेको छैन ।

निर्माण थालेको अस्पताल भवन समयमा निर्माण सम्पन्न नहुँदा स्वास्थ्य उपचार सेवा लिन टाढा धाउनु पर्ने अवस्था रहेको नौकुण्ड गाउँपालिका–३ का सुरेश लामाले बताउनु भयो ।

समयमा अस्पताल निर्माण सम्पन्न नहुँदा नौकुण्ड गाउँपालिकामा वर्षातको समयमा चार घण्टा बढि डोकोमा बिरामी बोकेर कालिका गाउँपालिकाको जिवजिवे ग्रागीण अस्पताल वा त्रिशूली अस्पताल लैजानु पर्ने बाध्यता छ । ‘समयमै अस्पताल भवन बनेको भए नागरिकले गाउँमै स्वास्थ्य उपचार सेवा उपभोग गर्न पाउथे ।’स्थानीय नुर्पु लामा नेकोरले भन्नुभयो ।

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा नागरिकलाइ स्वास्थ्य उपचार सेवा पाउन टाढा जानुपर्ने बाध्यता रहेको आमाछोदिङमो गाउँपालिका–३ का दुकर लामाले बताउनु भयो ।

नेपालको संबिधान २०७२ मा नागरिकको मौलिक हकमा स्वास्थ्यको अधिकार प्रदान गर्ने भनिएपनि त्यसको व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।


हेमनाथ खतिवडा