नेविसङ्घका कार्यकर्ताद्वारा प्रदेश मन्त्रीको जीप तोडफोड

आन्दोलनमा उत्रेका नेविसङ्घका कार्यकर्ताले चैत २१ गते बिहान ८ बजे कर्णाली प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री खड्कबहादुर खत्री चढेको जीपलाई ढुङ्गा प्रहार गरी क्षति पुर्‍याएका छन् ।

मन्त्री खत्रीलाई आवासमा लिन जाँदै गरेको बा २ झ १५६६ नम्बरको जीपमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका स्ववियु उप-सभापति आदित्यविक्रम शाहको रिहाईको माग गदै नेविसङ्घका कार्यकर्ता आन्दोलनमा छन् । उप-सभापति शाहलाई प्रहरीले चैत २० गते साँझ गिरफ्तार गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयका इन्जिनियरिङ संकायका डिन डाक्टर गोविन्दप्रसाद लामिछानेलाई प्रश्न-पत्र आउट गरेको आरोपमा नेविसङ्घका कार्यकर्ताहरूले चैत १७ गते अभद्र व्यवहार गरेका थिए । सोही आरोपमा प्रहरीले शाहलाई गिरफ्तार गरेको थियो ।


दुर्गा थापा