नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक

  ०७९ चैत १६ गते

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेकामध्ये इन्सेकको अभिलेखमा रहेका ६ हजार १४ जनाको नाम फेला परेको छ भने २ हजार ४ सय ५६ जनाको नाम फेला नपरेको इन्सेकद्वारा चैत १६ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

‘फेला परेकामध्ये राज्य पक्षबाट मारिएका ४ हजार ९ सय ५० जना र अन्य पक्षबाट मारिएका १ हजार ६४ जना रहेका छन् ।’–इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Table of Victim_20230330

राजपत्रमा प्रकाशित सहिदहरूको सूचीमा सबैभन्दा बढी कर्णाली प्रदेशका १ हजार ५ सय ८१ जना रहेका छन् । जसमध्ये इन्सेकको अभिलेखमा रहेका १ हजार २ सय ६२ जना छन् ।

त्यसैगरी कोशी प्रदेशमा १ हजार १ सय ६७ जनालाई सरकारले सहिद घोषणा गरेकामा इन्सेकले राखेको अभिलेखमा रहेका ८ सय ४३ जना समेटिएका छन् ।

मधेस प्रदेशमा सरकारले ७ सय ९ जनालाई सहिद घोषणा गरेकामा इन्सेकको अभिलेखमा रहेका ४ सय ९० जना समावेश भएको पाइएको छ ।

त्यसैगरी बागमती प्रदेशका १ हजार १ सय १३ जना सहिदको सूचीमा रहेकामा ९ सय ६५ जना इन्सेकमा अभिलेखित व्यक्तिको नाम रहेको छ ।

गण्डकी प्रदेशमा ६ सय ८६ जनालाई सहिद घोषणा गरिएकोमा इन्सेकमा अभिलेखित ५ सय ७७ जना समेटिएका छन् ।

लुम्बिनी प्रदेशका १ हजार ५ सय ६७ जनालाई सहिद घोषणा गरिएकामा इन्सेकको अभिलेखमा रहेका ६ सय ८ जना समाविष्ट छन् ।

सुदूरपश्चिमका १ हजार ५ जना सहिदमध्ये इन्सेकको द्वन्द्वपीडित पाश्र्वचित्रमा रहेका ७ सय ८९ जनाको नाम समावेश छ ।

त्यसैगरी नवलपरासीका ५८ जना सहिदमध्ये ५० जनाको नाम इन्सेकको अभिलेखमा पनि छ । रुकुमका ५ सय ८४ जना सहिदमध्ये ४ सय ३० जनाको नाम इन्सेकमा पनि अभिलेख छ ।

‘सन् १९९२ देखि निरन्तर नेपालको मानव अधिकार अवस्थाकाबारेमा अभिलेख गर्दै आएको छ । यसले गरेको अभिलेखमा यस अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडितको गुणात्मक तथा परिमाणात्मक तथ्याङ्क सङ्ग्रहित छ । नेपालको लोकतान्त्रिक आन्दोलन तथा १० वर्ष लामो सशस्त्र द्वन्द्व (२०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म) का क्रममा मारिएका, बेपत्ता पारिएका तथा घाइतेको विवरण सूची इन्सेकसँग उपलब्ध छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र द्वन्द्वको अवधिमा मारिएका, बेपत्ता पारिएका, घाइते र अङ्गभङ्ग भएका व्यक्तिको विवरण समेटेर इन्सेकले द्वन्द्वपीडित पाश्र्वचित्र प्रकाशन गरिसकेको छ ।

प्रकाशित पाश्र्वचित्रमा सशस्त्र द्वन्द्वका क्रममा १३ हजार २ सय ४८ जना मारिएका र ९ सय ३१ जना बेपत्ता पारिएको उल्लेख छ ।

द्वन्द्वपीडित पाश्र्वचित्र मानव अधिकार उच्चायोगको कार्यालयले सन् २०१२ मा प्रकाशन गरेको नेपाल द्वन्द्व प्रतिवेदनको मुख्य स्रोत समेत हो ।

इन्सेकको अभिलेख अनुसार २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वको नाममा दुबै पक्षबाट गरी देशभर १३ हजार २ सय ४८ जनाको हत्या भएको थियो । जसमा राज्य पक्षबाट ७ हजार ९ सय ५ जना र अन्य पक्षबाट ५ हजार ३ सय ४३ जना रहेका छन् । ५ हजार ३ सय ४३ जनामध्ये माओवादी पक्षबाट ५ हजार ४९ जनाको हत्या भएको थियो ।

‘सरकारले जारी गरेको सूचीमा विस्तृत शान्ति सम्झौतापछि विभिन्न घटनामा मारिएका कति व्यक्तिलाई सहिद घोषणा गरियो भन्ने एकीन गरिएको भेटिँदैन । पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख रुपियाँ आर्थिक सहयोगका लागि दबाब दिने प्रचलन समेत बढेको देखिन्छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

Press Release_2079_12_16-1

Press Release_2079_12_16-2

Press Release_2079_12_16-3

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकको धारणा हेर्न यहाँ क्लिक गर्नु होला


अनलाइन डेस्क