नेपाल मानव अधिकार वर्ष पुस्तक र मानव अधिकार अवस्थाबारे छलफल

  ०७७ चैत ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ कार्यालयको अनुगमन टोलीले नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्व र प्रदेशमा मानव अधिकारको अवस्थाबारे छलफल गरी सुझाव सङ्कलन गरेको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम र प्रदेश २ संयोजक राजु पासवानसम्मिलित टोलीले चैत ८ र ९ गते प्रदेश २ का प्रदेश प्रमुख डाक्टर राजेश झा, मुख्यमन्त्री लालबाबु राउत, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग छलफल गरी सुझाव सङकलन गरेको हो ।

सो अवसरमा प्रदेश प्रमुख झाले प्रदेश २ मा शिक्षा, स्वास्थ्य तथा मानव अधिकारको अवस्था कमजोर रहेको बताउनु भयो ।

प्रदेश २ मा नैतिक तथा नागरिक शिक्षासम्बन्धी कार्यक्रम गर्न प्रदेश प्रमुखले इन्सेक टोलीसँग आग्रह गर्नु भयो ।

उहाँले प्रदेशका नागरिकको मानव अधिकार अवस्था सुधारका लागि प्रदेश सरकारले इन्सेकसँग सहकार्य गरेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इन्सेकले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएकाले आगामी दिनमा महिला तथा दलित सशक्तिकरणसम्बन्धी कार्यक्रममार्फत नागरिकको हक अधिकारका क्षेत्रमा पनि कार्य गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले प्रदेश २ मा मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्नका लागि मानव अधिकारमैत्री नैतिक शिक्षा आवश्यक रहेको बताउनु भयो ।

प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहसँगको भेटमा मानव अधिकार तथा सङ्क्रमणकालिन न्यायका सन्दर्भमा प्रदेशका आठ ओटै जिल्लाका प्रहरी प्रमुखहरूलाई तालिम दिन प्रदेश प्रहरीसँग समन्वयका लागि इन्सेक अनुगमन टोलीसँग अनुरोध गर्नु भयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लामा अपराधिक तथा सामाजिक विभेदका घटनाहरूमा बृद्धि भइरहेकाले प्रहरी प्रशासन यस्ता घटनाका दोषीलाई कारवाही गर्न अग्रसर रहेको बताउनु भयो ।

photo20210322dhanusha (1)

photo20210322dhanusha (2)

photo20210322dhanusha (4)

photo20210322dhanusha (5)

photo20210322dhanusha (6)


दिपेन्द्रप्रसाद सिंह