नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ को तयारी, वार्षिक सम्पादन भेला सुरू

  ०७३ पुस २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले वार्षिक रूपमा प्रकाशन गर्दै आइरहेको नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ सृङ्खला नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१७ का लागि प्राप्त घटनाहरूका सन्दर्भमा छलफल गरी अन्तिम रूप दिन पाँचै क्षेत्रमा क्षेत्रीयस्तरको सम्पादन भेला पुस २४ गतेबाट सुरू भएको छ ।

पूर्वाञ्चलको विराटनगरमा, मध्यमाञ्चलको धुलिखेलमा, पश्चिमाञ्चलको पोखरामा, मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा र सुदूरपश्चिमाञ्चलको धनगढीमा पुस २४ र २५ गते सम्पादन भेलाको आयोजना गरिएको हो ।

भेलामा सहभागी पश्चिमाञ्चलका जिल्ला प्रतिनिधिहरूले जिल्लागत रूपमा मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराइरहेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१७ प्रकाशनको पूर्व सन्ध्यामा जिल्लागत प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको इन्सेकका क्षेत्रीय कार्यालयका संयोजकहरूले बताएका छन् ।

दुईदिने भेलामा जिल्ला प्रतिनिधिहरूले जिल्लामा घटना सङ्कलन गर्दा छुटेका सूचनाको बारेमा छलफल गरिने र वर्ष पुस्तकमा समावेश गरिने घटनाहरूको पनि सम्पादन गरिने मानव अधिकार प्रलेख तथा प्रसार कार्यक्रमका व्यवस्थापक मदन पौडेलले जानकारी दिए ।

उनले इन्सेकको कामलाई अझ विश्वासिलो बनाउन जिल्ला प्रतिनिधिहरूले घटना सङ्कलनको काममा चनाखो भइ पीडितलाई न्याय दिने कार्यमासमेत अझ सक्रिय हुनुपर्नेमा जोड दिए ।


अनलाइन डेस्क