नेपाल प्रहरीप्रति गुमेको जनविश्वास स्थापित गर्न आवश्यकः मन्त्री जोशी

  ०७८ भदौ २८ गते

नेपाल प्रहरीप्रति जनविश्वास गुमेको अवस्थामा प्रहरीमाथि जनताले विश्वास गर्न सक्ने स्थिति सृजना गर्न आवश्यक रहेको सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनु भएको छ ।

सीसु परियोजना अन्तर्गत डिसिएको सहकार्य र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा नेपाल प्रहरीका लागि मानव अधिकार विषयक दुई दिने तालिमको समापन सत्रमा मन्त्री जोशीले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नु भयो—'नेपाल प्रहरीप्रति पीडितले जुन विश्वासका साथ गुनासो लिएर आउनु हुन्छ । त्यसको सुनुवाइ र निष्पक्ष न्याय दिन सक्नु पर्छ । सरल र सहजपूर्ण वातावरणमा नागरिकलाई सेवा दिन सकेमा जनविश्वास स्थापित गर्न सकिन्छ । समुदायमा शान्ति तथा सुरक्षाका कायम गर्न नेपाल प्रहरीको ठुलो  जिम्मेवारी रहेकाले प्रहरी मेरो साथी भन्ने नारालाई आत्मसाथ गर्नु पर्छ ।'

इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले समुदायमा शान्ति, सुरक्षा तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्न  नेपाल प्रहरीले इमान्दारी, निष्पक्ष र जबाफदेही भई मानव अधिकारमैत्री वातावरणमा अपराध अनुसन्धान गर्नु पर्ने बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालय, धनगढीका डिआइजी पुरुषोत्तम  कडेलले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको मापदण्डमा रहेर काम गर्नु पर्ने भएकाले चुनौती रहेको बताउनु भयो ।

सुदुरपश्चिम सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले प्रदेश प्रहरीको कानुन अभाव र भारतसँग खुला सिमाना  रहेकाले कैलाली जिल्लामा अपराधिक गतिविधिमा दिन प्रतिदिन बृद्धी हुँदै गइरहेकाले शान्तिसुरक्षा कायम गर्न नेपाल प्रहरीलाई चुनौती भइरहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी विश्व अधिकारीले नेपाल प्रहरीका लागि मानव अधिकार विषयक दुई दिने तालिमले मानव अधिकारको सुरक्षाका लागि र अपराध  अनुसन्धान गर्न पुनर्ताजगी भएको बताउँदै पीडित पक्ष न्यायका लागि सबै भन्दा पहिला नेपाल प्रहरीमा आउने भएकोले प्रहरीले सजक र इमान्दार भएर कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।

डिसीएकी प्रतिनिधि मालती मास्केले नेपाल प्रहरी र नागरिकबिच समन्वय र सहकार्य हुन नसक्दा समूदायमा शान्तिसुरक्षा कायम हुन नसक्ने भएकोले पोशाकसहितको प्रहरी र बिना पोशाकका नागरिकबिच सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताउनु भयो ।

तालिमका सहभागी इन्स्पेक्टर दानबहादुर रोकायाले दुई दिनसम्म सञ्चालन भएको मानव अधिकार तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गरेर नागरिकलाई सेवा दिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

प्रहरी हवल्दार भरत विष्टले आफू अपराध अनुसन्धान शाखामा काम गर्ने हुनाले यस तालिमले कार्य सम्पादन कार्यमा सहजता ल्याउने आशा गरेको बताउनु भयो ।

भदौ २७ र २८  गते धनगढीमा सञ्चालन गरिएको दुई दिने तालिममा मानव अधिकारको आधारभुत अवधारणा र  नेपालमा प्रहरीको जिम्मेवारी तथा विद्यमान व्यवस्थाहरु र कार्यान्वयनका चुनौतीहरु, मानव अधिकारको संरक्षणमा प्रहरीको भूमिका, यातना तथा क्षतिपुर्तिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधान, फौजदारी संहिता २०७४ र मानव अधिकारमैत्री प्रहरी अनुसन्धानलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

photo20210913kailali (4)

photo20210913kailali (8)

photo20210913kailali (7)

photo20210913kailali (6)

photo20210913kailali (5)

photo20210913kailali (3)

photo20210913kailali (2)

photo20210913kailali (1)


मैनामोती चौधरी