नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित

  ०८० असोज ५ गते

गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउने र गैरआवासीय नेपालीले नागरिकता लिने बाटो खुलेको हो ।

यसअघि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् । संसोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नु पर्ने र विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नु पर्ने उल्लेख गरिएको छ ।

नियमावली राजपत्रमा प्रकाशन भएसँगै विदेशमा बसोबास गर्दै आएका नेपालीले समेत गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छन् ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्थामा आफू वा आफ्नो बुबा, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागारिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो, त्यही नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुकसमेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली दूतावास वा वाणिज्य दूतावासमा निवेदन दिएर नागरिकता लिन सक्ने उल्लेख गरिएको छ ।

नागरिकता लिने व्यक्तिले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिएपछि त्यहाँका कर्मचारीले १५ दिनभित्र आवश्यक रायसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ । परराष्ट्रमार्फत आएको रायमा प्रमुख जिल्ला अधिकारीले छानबिन गरी निवेदन दिने व्यक्ति गैरआवासीय नागरिकता प्राप्त गर्न योग्य देखिएमा अनुसूची ८ (ङ) बमोजिम गैरआवासीय नेपाली नागरिकता जारी गर्न सक्ने छन् ।


विमल पौडेल