नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्माको घरमा पक्राउ पुर्जी टाँस

नरहरीनाथ गाउँपालिका-६ निवासी नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता ४९ वर्षीय खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' को घरमा चैत १५ गते अदालतले 'पक्राउ पुर्जी' टाँस गरेको छ ।

Photo20180330Kalikot

भोजपुर जिल्ला अदालतले बिश्वकर्माको कालिकोट नरहरीनाथ गाउँपालिका-६ माल्कोटस्थित घरमा 'ज्यान मार्ने उद्योग र विष्फोटक प्रदार्थ' मुद्दामा पक्राउ पुर्जी टाँस गरेको हो ।

बिश्वकर्माको घरमा टासिएको पुर्जीमा भोजपुर अदालतमा हाजिर हुन ७० दिनको बाटाको म्याद समेत तोकिएको छ ।

यसभन्दा अघि नै भोजपुर जिल्ला अदालतले सो पार्टिका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' लाई पक्राउ गर्न प्रहरीलाई भनेपछि प्रहरीले देशभर सर्कुलर जारी गरेको थियो ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका समयमा भोजपुरमा बम विष्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर विष्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो ।

गत कात्तिक २८ गते भोजपुरमा पूर्व सञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो । राई अहिले प्रदेश १ का मुख्यमन्त्रीमा निर्वाचित भई कार्यरत छन् । जिल्लाका अन्य भागमा पनि विष्फोट भएका थिए । सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको आदेशअनुसार बिश्वकर्मालाई पक्राउ गर्न प्रहरीले देशैभरि सर्कुलर जारी गरेको छ ।


कालीबहादुर मल्ल