नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण जनजीवन प्रभावित

  ०७४ फागुन ८ गते

आफ्ना पार्टीका कार्यकर्ता गिरफ्तार भएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आहृ्वान गरेको नेपाल बन्दले इन्सेक नेपालगञ्ज मातहतका सल्यान, बर्दिया, बाँके, रोल्पा, प्यूठान र डोल्पा जिल्लाको जनजीवन प्रभावित भएका समाचार सम्बन्धित जिल्लाका प्रतिनिधिले पठाएका छन् ।

बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधान संचालन भएनन भने जिल्लाका निजी तथा सरकारी विद्यालय र बजार पूर्ण रुपमा बन्द भए ।

बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार बन्दको प्रभाव शिक्षण संस्थामा परेको छ । जिल्लाका निजी तथा संस्थागत शिक्षण संस्था बन्द भएका कारण विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ । छिटपुट रुपमा बजार खुलेको र छोटो दुरीका सवारी साधन सञ्चालनमा आए पनि लामो दुरीका सवारी साधन भने सञ्चालनमा आउन सकेनन् । जिल्लामा कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार बन्दले जिल्लाका व्यापारिक केन्द्र बिजुवार, बाग्दुला, खलंगा र भिग्रीका पसल बन्द भए । जिल्लाबाट बाहिरिने यातायातका साधन, शिक्षण संस्था कलकारखान पूर्ण रुपमा बन्द रहेका छन् । बन्दमा पत्रकार र एम्बुलेन्सका साधन भने चलिरहेका थिए ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार बन्द गराउदै हिडेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नारायण वली र निरज क्षेत्रीलाई फागुन ८ गते प्रहरीले गिरफ्तार गरेको जनाएको छ । कपुरकोट बजार बन्द गर्दै हिडेका दुई जनालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कपुरकोटका सई धर्मराज भण्डारी जानकारी दिएका छन् । बन्दका कारण बिहानैदेखि सल्यानको जनजीवन प्रभावित बनेको छ । जिल्लामा सञ्चालित शिक्षणसंस्था, बजार र छोटो तथा लामो दुरीका सवारी साधन पूर्ण रुपमा ठप्प भए ।

रोल्पा जिल्ला प्रतिनिधि माधव ओलीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सदरमुकाम लिवाङमा गर्न लागेको कोणसभा स्थानीय प्रशासनले रोकेको छ । शान्तिपूर्ण रुपमा कोणसभा गर्न नपाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज सन्तोष सुवेदीले विरोध जनाए । दिउँसो चार बजेदेखि बन्द खुलेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बजार क्षेत्रमा माइकिङ् गरी जानकारी गराएका छन् ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरीले जिल्लाका सरकारी कार्यालयमा भौतिक क्षति गर्न सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा अर्थ विभाग प्रमुख ४२ वर्षीय गोकर्ण थापालाई ठूलीभेरी नपा-१ दुनै बजारबाट फागुन ८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले बताए ।


इन्सेक कार्यालय, नेपालगञ्ज