नेपाल कम्युनिष्ट पार्टीको बन्दले वाम गठबन्धनका चुनावी सभा प्रभावित

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले मङ्सिर ६ गते वाम गठबन्धनद्वारा घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभा प्रभावित भएको छ ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न मितिमा २३ जना कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा जिल्ला बन्दको आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । बन्दका कारण चुनावी सभामा आउने मतदाता पैदल तथा साइकलमा आउनु परेको एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्काले बताए ।

बन्दका कारण जिल्लाका शैक्षिक संस्था ठप्प भएका छन् । सार्वजनिक यातायात, शैक्षिक संस्था, कलकारखानालगायत जिल्लाका मुख्य शहर घोराही, तुलसीपुर, लमही, भालुवाङ खुल्न सकेनन् ।

शैक्षिक संस्था नखुल्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको प्याब्सन दाङका अध्यक्ष यादव गिरीले बताए । यसैगरी सार्वजनिक यातायात नचल्दा सर्वसाधारण गन्तव्यमा पुग्न समस्या भएको छ । बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिं चन्दले बताइन ।


जे.एन.सागर