नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारको घर कब्जा

नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार गोविन्दबहादुर कार्कीको घर कात्तिक १७ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको 'नेपाल कम्युनिष्ट पार्टी भोजपुरले कब्जा गरेको जनाएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेकोमा बेवास्ता गरेको भन्दै भोजपुर नगरपालिका-१२ टक्सारस्थित रहेको कार्कीको घर कब्जा गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले भने घर कब्जाको विषयमा जानकारी लिने काम भइरहेको जनाएको छ ।

कार्कीले प्रदेश सभा निर्वाचनमा भोजपुर (ख) बाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । यस विषयमा जानकारी लिँदा उम्मेदवार कार्कीले भने आफूलाई जानकारी नआएको बताएका छन् ।

द्वन्द्वको समयमा कार्कीको घरजग्गा तत्कालीन नेकपा माओवादीले कब्जा गरेपछि उनि काठमाडौँमा विस्थापित भएका थिए । अन्य उम्मेदवारको घर पनि कब्जा गर्ने योजना रहेको सो पार्टीका जिल्ला सेक्रेटरी मादेन किरातीले बताए ।


किरण राई