नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सरकारी गाडीमा तोडफोड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज ३ गते रोकेर राखेको सरकारी गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सो पार्टीका कार्यकर्ताले पोखरा-लेखनाथ मनपा-८ मा रोकेर राखेको बा १ झ ९६२२ नम्बरको सरकारी गाडीमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको हो । तोडफोडबाट गाडीको झ्यालमा क्षति पुगेको जनाइएको छ ।

सरकारी नम्बर प्लेटको सो गाडी कुन कार्यालयको हो भन्ने बारे नखुलेको र कुनै सरकारी कार्यालयले समेत प्रहरीमा घटनाको बारेमा जानकारी नगराएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्गबहादुर खत्रीले बताए । गाडी तोडफोडमा संलग्न आरोपितको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


संगीता भाट