नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा शिक्षक र वडा सदस्यलाई मोसो दलेर दुर्व्यवहार

दुप्चेश्वर गापा-१ घ्याङफेदीस्थित इन्द्रायणी प्राविका प्रधानाध्यापक ४८ वर्षीय रामकृष्ण श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

सुर्यगढी गापा-५ गणेशस्थान घर भएका शिक्षक श्रेष्ठ भदौ ३० गते विद्यालयबाट घर आउनेक्रममा दुप्चेश्वर गापा-६ रामतीमा ५/६ जनाको समूहमा आएको आफूलाई नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठनको कार्यकर्ता बताउनेले मोसो दलेर हातपात गरेको भन्दै असोज १ गते पीडितले जिल्ला प्रहरी कार्यालय कारवाहीको लागि निवदेन दिएका छन् । दुप्चेश्वर गापा-६ समुद्रटारका अनन्त धितालसहितको समूहले मोसो दलेको पीडित श्रेष्ठले आरोप लगाए ।

विद्यालय नगई घरै बसी तलब खाएको आरोपमा अखिल क्रान्तिकारीले आफूलाई मोसो दलेको श्रेष्ठले बताए । २०५३ सालदेखि अनवरत रूपमा काम गरिरहेको शिक्षक श्रेष्ठले बताए । विद्यार्थीहरूले आगामी दिनमा भौतिक आक्रमणको समेत धम्की दिएकोले असुरक्षित भएकोले सुरक्षाको व्यवस्था मिलाउन समेत उनले माग गरेका छन् ।

शिवपुरी गापा-४ का वडा सदस्य ४९ वर्षीय उद्धवबहादुर थापालाई भदौ ३१ गते नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

शिवपुरी-५ चालिसेमा विभिन्न आरोप लगाउँदै आफूलाई नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ता बताउने नचिनेको मानिसहरूको समूहले मोसो दलेको शिवपुरी गापाका अध्यक्ष रामकृष्ण थापाले बताए । पीडित थापाले असोज १ गते सिक्रे प्रहरी चौकी र शिवपुरी गाउँपालिकाको कार्यालयमा दोषी खोजी गरी कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्य निर्वाचित थापालाई पदीय जिम्वेवारी पुरा नगरेको, अबैध औषधी पसल सञ्चालन गरेको, १० वर्ष झोलुङ्गे पुल निर्माण गर्दा निर्माणको समितिको अध्यक्ष बनि रकम दुरुपयोग गरेको आरोप लगाएको गाउपालिाकाका अध्यक्ष रामकृष्ण थापाले बताए ।


नवदीप श्रेष्ठ