नेपाल कम्युनिष्ट पार्टीका २६ जना कार्यकर्ता गिरफ्तार 

  ०७४ वैशाख २० गते

स्थानीय तहको निर्वाचनको विरोध गर्दै आइरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २६ जना नेता तथा कार्यकर्तालाई जुम्ला र रुकुम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार भएका विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा राखेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार सिजा गाउँपालिका निवासी नेपाल कम्युनिष्ट पार्टी कर्णाली व्यूरो सदस्य तथा जुम्ला इञ्चार्ज ४६ वर्षीय चन्द्रविर तिरुवा (रविकिरण) लाई प्रहरीले वैशाख १९ गते गिरफ्तार गरेको छ । जिल्ला सेक्रेटरी विर्खबहादुर शाहीका अनुसार तिरुवालाई सदरमुकाम खलङ्गास्थित कोठाबाट प्रहरीले गिरफ्तार गरेको हो । विर्खबहादुरले भने-'पार्टी इञ्चार्ज तिरुवाको रिहाईको माग गरेको छ ।'

सो पार्टीले स्थानीय तहको निर्वाचन जनमूखी नभएको भन्दै विरोध गर्दै आइरहेको सेक्रेटरी शाहीले बताए ।

निर्वाचन शिक्षा कार्यकर्ता कृष्णकौरा शाहीका अनुसार सो पार्टीका कार्यकर्ताले टाँसिएका निर्वाचन प्रचारप्रसार सामग्री च्यातेर स्थानीय तहको चुनाव बहिष्कार लेखेका सामग्री टाँस्ने गरेका छन् । त्यसैगरी निर्वाचन शिक्षा कार्यकर्ता रतनबहादुर रावतले पनि निर्वाचन प्रचार सामग्री च्यातेर फालिदिने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी गुरुविष्णु काफ्लेले स्थानीय तहको निर्वाचन विरोध गर्दै आइरहेका सो पार्टीका जिल्ला इञ्चार्ज रविकिरण तिरुवालाई सदरमुकामबाट नियन्त्रणमा लिएको बताए ।

रुकुम जिल्ला प्रतिनिधि आदर्श केसीका अनुसार निर्वाचन विथोल्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय रुकुमले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित २५ जनालाई गिरफ्तार  गरेको छ ।

रुकुमको आठबिसकोट नपामा चुनाव बहिष्कार अभियान चलाइरहेको समयमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीले बताए । 'हामीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि पक्राउ गरेका हौँ ।'-डिएसपी जिसीले भने ।

त्यसैगरी प्रहरीले मुसिकोट बहुमूखी क्याम्पसका प्राध्यापक हरिविष्णु ओलीलाई वैशाख १९ गते बिहान क्याम्पस पढाएर घर फर्कने क्रममा गिरफ्तार गरको छ । बिहान क्याम्पस पढाएर फर्कँदा उनलाई प्रहरीले गिरफ्तार गरेको ओलीकी पत्नी रचना मल्लले आरोप लगाइन् । प्रहरीले प्राध्यापक ओली नेपाल कम्युनिष्ट पार्टीको समर्थक भएकाले गिरफ्तार गरेको बताएको छ । ओली नेपाल पत्रकार महासङ्घ रुकुमका संस्थापक तथा पूर्व केन्द्रीय पार्षद् समेत हुन् । जिल्लाका निर्वाचन हुने स्थानहरूमा प्रहरीले उच्च सुरक्षा सतर्कता बढाएको छ ।


मानदत्त रावल