नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा तोडफोड

  ०७९ वैशाख १५ गते

नेपाली कांग्रेसका कार्यकर्ताले वैशाख १५ गते पोखरा महानगरपालिका–४ तेर्सापाट्टीमा रहेको नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा तोडफोड गरेका छन्  ।

पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका–३३ ओटा वडा बाँडफाँड बारे छलफल चलिरहेका बेला गठबन्धन नस्विकार्ने भन्दै आक्रोशित कार्यकर्ताले कार्यालयमा तोडफोड गरेका हुन् ।

नेपाली कांग्रेस कास्की जिल्लाले गठबन्धन नगर्ने निर्णय गरेपनि केन्द्रले गठबन्धन गर्न निर्देशन दिएपछि आक्रोशित कांग्रेस कार्यकर्ताले नाराबाजी र तोडफोड गरेका हुन ।

आक्रोशित कार्यकर्ताले कार्यालयको कुर्सी, टेबल, प्रदेश सभापति शुक्रराज शर्माको कुर्सी र झ्यालका सिसा फुटालेको कांग्रेस गण्डकी प्रदेश कार्यालयका प्रवक्ता माधव बास्तोलाले बताउनुभयो ।

त्यस्तै पोखरा महानगरपालिकाको मेयर र उपमेयरको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थल अगाडि नेपाली कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गर्नुका साथै कार्यक्रम स्थल पुगेका गण्डकी प्रदेश कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापालाई कालोमोसो दल्ने धम्कीपनि दिएका थिए ।


सुशन घिमिरे