नेपाली काङ्ग्रेसको अभियानमा गएका कार्यकर्ता मृत भेटिए

नपाली काङ्ग्रेसको चुनावी अभियानमा गएका सर्केगाड गाउँपालिका-८ का ३९ वर्षीय बक्त ऐडी मृत अवस्थामा भेटिएका छन् ।

राहादेव गाउँमा वैशाख २१ गते बिहान नेपाली काङ्ग्रेसको अभियानमा गएका ऐडी वैशाख २२ गते सर्केगाड गाउँपालिका-६ को बराई गाउँमा मृत अवस्थामा भेटिएको उनका आफन्त भैबहादुर ऐडीले बताए ।

ऐडीका अनुसार बराई गाउँमा सो दिन नेपाली काङग्रेसको अभियान अन्तर्गत प्रचार गरी बेलुका खाना खाएर नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्ष पदमा उठेका ३५ वर्षीय बलपति ऐडीसँग सुतेका थिए ।

सँगै सुतेका अन्य साथी बिहान उठेर बाहिर गएपनि ऐडी बिहान अबेरसम्म नउठ्दा बोलाउन जाँदा ओछ्यानमा मृत अवस्थामा ऐडीको शव फेला परेको बलपति ऐडीले बताए ।

के कति कारणले ऐडीको मृत्यु भएको हो ? सोको जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले बताए । उक्त घट्नाको अनुसन्धान भइरहेको डिएसपी नेपालले जानकारी गराए ।


नन्द सिंह