नेपाली कांग्रेसका वडा सभापतिलाई कुटपिट, आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०७९ जेठ २१ गते

नेपाली कांग्रेस अदानचुली गाउँपालिका–२ का ३५ वर्षीय वडा सभापति रतन भण्डारीलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३९ वर्षीय लोकेन्द्र भण्डारी र ५९ वर्षीय चैते भण्डारीविरुद्ध जेठ १९ गते प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी परेको छ ।

पीडितलाई आरोपितले जेठ १४ गते घाइते हुने गरी कुटपिट गरेको भन्दै घाइतेकी पत्नी गिता विष्टले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको डिएसपी कृष्णराज ओझाले बताउनु भयो ।

कुटपिटबाट घाइते हुनुभएका वडा सभापति भण्डारीको उपचार श्रीनगर स्वाच्यचौकीमा हुन नसकेपछि जेठ १५ गतेदेखि कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको घाइतेकी पत्नी विष्टले बताउनु भयो ।

स्वतन्त्र उम्मेदवारका आफन्त एवं कांग्रेसका वडा सभापति हरिचन्द्र भण्डारीले निर्वाचनमा स्वतन्त्र उम्मेदवार र एमालेलाई सघाएको भन्दै जेठ १४ गते नै कांग्रेस अदानचुली गाउँपालिका कार्यसमिति बैठकले हरिचन्द्रलाई कारवाही गरेर उहाँको स्थानमा घाइते भण्डारीलाई मनोनयन गरेको झोकमा कुटपिट गरेको पीडितले आरोप लगाउनु भयो ।

घटनामा संलग्नलाई नियन्त्रणमा लिएर छलफल गरिने डिएसपी ओझाले जानकारी दिनु भयो ।


नन्द सिंह