नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

  ०७९ चैत १२ गते

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ जना रहेको छ । त्यस्तै प्रतिवेदनमा उल्लेख भएको कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९ सय २८ जना रहेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागको जनसंख्या अनुपातमा हेर्दा महिलाको संख्या ५१.०२ प्रतिशत, पुरुष ४८.९८ प्रतिशत र लैङ्गिक तथा यौनिक अल्पसंख्यकको संख्या ०.०१ प्रतिशत रहेको छ ।

त्यस्तै भौगोलिक क्षेत्रअनुसार जनसंख्या हेर्दा कुल जनसंख्याको ५३.६१ प्रतिशत अर्थात १ करोड ५६ लाख ३४ हजार ६ जना तराईमा, ४०.३१ प्रतिशत अर्थात १ करोड १७ लाख ५७ हजार ६ सय २४ जना पहाडमा र ६.०८ प्रतिशत १७ लाख ७२ हजार ९ सय ४८ जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्ने प्रतिबेदनमा उल्लेख रहेको छ ।

राष्ट्रिय जनगणना ०७८ को नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । जुन गत ०६८ को जनगणनामा क्रमशः २०.८७ र ५.९३ प्रतिशत रहेको थियो । यसैगरी मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ ।

त्यस्तै राष्ट्रिय जनगणनामा ०७८ बाट प्राप्त नतिजा अनुसार कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् । ०६८ को जनगणनामा कुल जनसंख्याको १.९४ प्रतिशत व्यक्तिमा कुनै एक वा एक भन्दा बढी प्रकारको अपाङ्गता रहेको थियो ।

यसैगरी जनगणना अनुसार कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । साक्षरतामा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । अघिल्लो अर्थात् ०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

त्यस्तै जनगणनाको नतिजा अनुसार ५ वर्ष वा सो भन्दा कम उमेरका कुल ३० लाख ७ हजार ६ सय ४८ जना बालबालिका मध्ये ७४.० प्रतिशतको जन्मदर्ता गरेको पाइएको छ भने २६ प्रतिशतको जन्मदर्ता नगरेको पाइएको छ ।

जन्म दर्ता गरेको संख्या हिमालमा ८१.९ प्रतिशत, पहाडमा ७३.१ प्रतिशत र तराईमा ७३.७ प्रतिशत देखिन्छ भने प्रदेशगत रुपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ८७.३ र कम बागमती प्रदेशमा ६७ प्रतिशत मात्र जन्म दर्ता गरेको देखिन्छ ।

जनगणनाको विवरण अनुसार प्रति लाख जीवित जन्ममा १ सय ५१ जना मातृ मृत्यु दर रहेको छ ।

जनगणनाको नतिजा अनुसार १५–४९ वर्षका विवाहित महिला ९ करोड ६१ लाख ४५ हजार ३९ जना मध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा जन्माएका छैनन् भने २ जना जीवित बच्चा जन्माएका महिलाको संख्या सबैभन्दा बढी ३३ प्रतिशत रहेको छ ।

तथ्याङ्कमा १ जना मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३.१ प्रतिशत रहेका छन् भने ९ वा सो भन्दा बढी जीवित बच्चा जन्माउने महिला ०.१ प्रतिशत रहेको छ । १५–४९ वर्षका कुल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म १ करोड २७ लाख ९९ हजार ९ सय ६९ बच्चा जन्माएका छन् । जसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत रहेको छ । कुल जीवित जन्मेका बच्चाहरूमध्ये ३.२ प्रतिशतको मृत्यृ भएको थियो । मृत्यु भएका बच्चाहरुमध्ये छोरा ५७.६ प्रतिशत र छोरी ४२.४ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको उल्लेखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६ सय २२ जना (९५ प्रतिशत) को मृत्यु मातृ मृत्युसँग सम्बन्धित रहेको छ । यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जस अनुसार मातृ मृत्यु दर १ सय ५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।


विमल पौडेल