नेकाबाट नवनिर्वाचित वडाध्यक्षद्वारा एमाले नेतालाई ज्यान मार्ने धम्की

वीरेन्द्रनगर नपा- १६ का ५३ वर्षीय नेकपा एमाले जिल्ला कमिटीका बैकल्पिक सदस्य कालीप्रसाद आचार्यलाई सोही वडामा नेपाली काङ्ग्रेसबाट नवनिर्वाचित वडाध्यक्ष ४२ वर्षीय पुर्णबहादुर ढकालले जेठ २८ गते राति मार्ने धम्की दिएको पीडित पक्षले आरोप लगाएको छ ।

आर्दश मावि मेहेलीको जेठ २६ गते सम्पन्न वाषिर्कोत्सवको अवसरमा एमाले पार्टी प्रतिनिधिको तर्फबाट कालिप्रसाद आचार्यले विद्यालयको आर्थिक कारोबार तथा शिक्षक राख्दा पारदर्शी हुनुपर्ने अभिव्यक्ति दिएको आरोपमा अध्यक्ष ढकालले आफूलाई गोली हानी मार्ने धम्की दिनुको साथै अपशब्द बोलेर दुर्व्यवहार गरेको पीडितले आरोप लगाए ।

'म घरमा परिवारसँग बसिरहेको थिएँ । वडाध्यक्ष ढकालको मोवाईल नं ९८६८२२६५१९ बाट फोन आयो ।'-आचार्यले भने-'सुरुमै रेकर्ड गर । म तँलाई गोली हानी मारिदिन्छु भन्दै अपशब्द प्रयोग गरी परिवारको सामु यस्तो धम्की सुन्नुपरेपछि अहिलेपनि म त्रसित अवस्थामा छु ।'

वडाध्यक्ष ढकालले मार्ने धम्की दिए लगत्तै सुरक्षित स्थल खोज्दै वीरेन्द्रनगर आएको आचार्यले बताए । आफ्नो मोवाइल नं ९८४८१२३१९१ मा यसरी गोली हानी मार्ने धम्की आएपछि तत्कालको लागि घरमा फर्कन नसक्ने वातावरण नरहेको आचार्यको भनाइ छ ।

यसैबीच नेकपा एमाले सुर्खेतले जेठ २९ गते एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाको भत्सर्ना गरेको छ । एमाले सुर्खेतका उपाध्यक्ष अमृत विसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सत्ताको उन्मादमा यसरी ज्यान मार्ने धम्की दिने वडाध्यक्ष ढकाललाई तत्काल गिरफ्तार गरी कानुन बमोजिम कारबाही गरिनुपर्ने माग गरिएको छ । आफूलाई यसरी ज्यान मार्ने धम्की दिएको विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिने तयारी गरिरहेको जानकारी पनि दिए ।


दुर्गा थापा