नेकपा समाजवादीका जिल्ला अध्यक्ष बस्नेतको घर तोडफोड गर्दै मार्ने धम्की

  ०७९ भदौ २६ गते

नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा ०७९ भदौ २५ गते हतियारधारी अज्ञात समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै मार्ने धम्की दिएको छ ।

हतियारधारी सहित चार/पाँच जनाको समूहमा आएका व्यक्तिहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष बस्नेतको घरमा प्रवेश गरी ढोकाहरू तोडफोड गरेको, अध्यक्ष बस्नेत फेला नपरेपछि मार्ने धम्की दिँदै बाहिर निस्कने क्रममा एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजू पाण्डेले बताउनु भयो ।

डिएसपी पाण्डेले घटना फरक प्रकृतिको रहेकाले गम्भीर रूपमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

घटनाबारे परिसरका एसपी सहित अनुसन्धान टोलीले निरीक्षण गरेको जानकारी दिदै उहाँले प्रहरी वृत्त थिमिका प्रमुख एवम् डिएसपी हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर बिभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर नभेटेपछि मार्ने धम्की दिँदै तोडफोड गरेर फर्किएको हुनसक्ने बस्नेतकी श्रीमति उषा कार्कीले बताउनु भयो ।

घटनाबारे जानकारी दिँदै बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राती पेस्तोलसहित आएको समूहले मेरो घरको ढोकाहरू तोडफोड गरी म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतीको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेछन्, मेरो जेठो छोरा आएपछि उसलाई समाएर लैजान खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन त्यति मोटो छैन छाडिदे भनेपछि छोरालाई पनि दुई झापड हानेर गएछन्, मेरो अपहरण गर्ने उद्देश्यले आएको आशंका हामीले गर्‍यौँ ।”

अपराधिक समूहले घर कम्पाउण्डको गेट फुटाएर भित्र पसेको, त्यसपछि घरको मुख्य ढोका र चेन गेटसमेत फुटाएर कोठामा छिरेको पाइएको उहाँले बताउनु भयो ।

घटनाबारे जानकारी दिँदै अध्यक्ष बस्नेतकी श्रीमती कार्कीले अज्ञात समूह घरमा प्रवेश गरेपछि आफूहरू सुत्ने तेस्रो तलाको कोठामा आइपुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “करिब आठ जनाको समूह आएका थिए तर घर भित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै सुतेको थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधै हामी सुत्ने कोठामा ढोका फोडेर आएर पेस्तोल मेरो कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा समेत खोजी गरे । तर मेरो श्रीमान्लाई देखेनन्, मेरो जेठो छोरा आदेशसंँगैको कोठामा सुतेको थियो, ऊ उठेर आएपछि एक जनाले उसलाई समाएर लैजान खोज्यो, अर्कोले त्यो होइन, यति मोटो छैन छाडिदे भनेपछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए ।”

मुखमा नकाबसमेत नलगाएका र कालो लुगा लगाएका मोटा तीन जना कोठामा प्रवेश गर्दै श्रीमानको अपहरण गर्ने उद्देश्यले आएको र नदेखेपछि तोडफोड गरेर फर्किएको हुनसक्ने आशंका उहाँको छ ।

उनीहरूले बस्नेतको घरबाट छोराले गेम खेल्ने एक थान सानो मोवाइल, एक जोर जुत्ता र किचेनबाट दुईओटा थाल मात्रै लगेको जानकारी दिँदै बस्नेतले चोरी गर्ने उद्देश्यले नआएको तर ध्यान अन्यत्र मोड्न चोरेको जस्तो पनि गरेको हुन सक्ने बताउनु भयो ।

हतियारधारी समूहले लगेको मोवाइल र लगाएको आएको जुत्ता छाडेर अर्को जुत्ता लगाएकाले प्रहरीले अनुसन्धानका लागि जुत्ता बरामद गरेको बताएको छ ।

घटनास्थलमा रहनु भएका प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक चौधरीले घटना अपराधिक मानसिकताबाट भएको हो वा राजनीतिक के हो भन्ने अनुसन्धान भइरहेको बताउदै बस्नेत परिवारले दिएको बयानका आधारमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसमेत आएर अनुसन्धान अगाडि बढाएको बस्नेतले जानकारी दिनु भएको छ । उहाँले आफू र आफ्नो घर तथा टोलको कडा सुरक्षाको ब्यबस्था गर्न माग गर्नु भएको छ ।


रमेश गिरी