नेकपा (बहुमत) का नेता पेस्तोल र ग्रिनेटसहित गिरफ्तार

  ०७९ असोज ७ गते

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का एक नेता पेस्तोल र ग्रिनेट सहित जाजरकोटमा गिरफ्तार भएका छन् ।

नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नविन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लाष्टिक हेन्ड ग्रिनेटसहित जाजरकोट नलगाड नगरपालिका–६ सिर्केबाट असोज ५ गते प्रहरीले गिरफ्तार गरेको हो ।

उनको साथबाट दुई एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जि.लट चार लेखिएको तयारी अवस्थामा रहेको प्लाष्टिक हेण्ड ग्रिनेटसहित उनलाई फेला पारेपछि प्रहरीले गिरफ्तार गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा असोज ६ गते पेश गरिएकोमा अदालतबाट सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताउनु भयो ।

नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले असोज ६ गते विज्ञप्ती प्रकाशित गरि योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै घटनाको विरोध जनाएका छन् । गिरफ्तार भएका नेता नविनलाई विना सर्त रिहा गर्न विज्ञप्तीमा आग्रह समेत गरिएको छ ।
Photojajarkot20220923 Photojajarkot20220923.


दिनेश कुमार श्रेष्ठ