नेकपा कार्यकर्तद्वारा मतदाता शिक्षा तथा प्रचार सामग्री जलाइयो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन् ।

Photo20171116Salyan

नेकपा सल्यानले कात्तिक ३० गते निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता शिक्षासँग सम्बन्धित सामग्री र वाम गठबन्धनका पर्चा पम्पलेटहरू कब्जा गरी जलाएको हो  ।

निर्वाचन खारेजीको अभियान लिएको नेकपाले आफ्ना कार्यकर्ताले मतदाता शिक्षा सामग्री र वाम गठबन्धनतर्फका उम्मेदवारका प्रचार सामग्री जलाएको जनाएको छ ।

Photo20171116Salyan1

बागचौर नगरपालिका-३ खालीमा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताका साथमा रहेको पर्चा पम्पलेट आफ्ना कार्यकर्ताले खोसेर जलाएको नेकपा सल्यानका जिल्ला इञ्चार्ज डिल्लिराज शर्मा विश्वले जानकारी दिए ।

त्यसैगरी उनीहरूले मतदाता शिक्षा सामग्री पनि कब्जा गरेर जलाएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस विषयमा आफूलाई आधिकारिक रूपमा जानकारी नआएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत बिकले मातहतका निकायमा बुझेर यस विषयमा अनुसन्धान अघि बढाइने बताए ।


मिना बुढाथोकी