नुवाकोटको ५४ मतदानस्थल अतिसंवेदनशील

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको राससले जनाएको छ ।

यसअघिको स्थानीय तहको लागि निर्धारण गरेको १ सय २९ मतदान स्थललाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गरिएको विभाजनको आधारमा सुरक्षाको दृष्टिकोणले ५४ स्थानमा रहेका मतदानस्थल अतिसंवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

यस्तै, ५० मतदानस्थल संवेदनशील र २५ मतदानस्थल सामान्य निर्धारण गरेर सुरक्षा व्यवस्था मजबुद बनाउने तयारी सुरु गरिएको प्रजिअ बरालले बताए ।

कायम रहेका मतदान केन्द्रको वर्गीकरणको लागि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि र प्रभावित क्षेत्र, अनपेक्षित राजनीतिक प्रतिस्पर्धा हुने स्थान, भौगोलिक कठिनाइ एवम् विकट बस्ती, जातीय, क्षेत्रीय, सांस्कृतिक र सम्प्रदायिक प्रभाव रहेको स्थान र यसअघिको निर्वाचनको समीक्षालगायतको मापदण्डको आधारमा मतदानस्थलको वर्गिकरण गरिएको हो ।

मतदानस्थलको वर्गिकरणको आधारमा सुरक्षा व्यवस्थाको लागि सुरक्षाकर्मीको तयारी, नेतृत्व, सङ्ख्या निर्धारण गर्ने गरी निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रकुमार बस्यालले जानकारी दिए ।


अनलाइन डेस्क