निहारिका राजपुतद्वारा रास्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास

  ०७९ साउन २७ गते

आफ्नो मागको सुनुवाई हुनुपर्ने माग गर्दै ०७९ साउन २० गतेदेखि काठमाडौमा आमरण अनशनमा बस्दै आएकी  निहारिका राजपुत (सोनालीकुमारी सिंह)ले रास्ट्रपति कार्यालय  पानीपोखरी अगाडि आत्मदाह प्रयास गरेकी छिन् ।

राष्ट्रपति भवन शीतल निवास अगाडी  साउन २७ गते शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई उद्धार गरेको छ  ।

प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको प्लाष्टिकका बोतल बरामद गरेको जिल्ला प्रहरी  परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो  ।

मैनालीका अनुसार  घटनास्थलबाट निहारिका, उनका छोरा र एक साथीलाई नियन्त्रणमा लिएर  प्रहरी वृत्त महाराजगञ्जमा केही समय राखि स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ    ।

आफूलाई “कुमारी आमा”  भनेर चिनाउने निहारिका आफू १७ वर्षको उमेरमा ०७६ कात्तिक ६ गते जनकपुरका शिवराज श्रेष्ठले बलात्कारको बलात्कारपछि जन्मिएको आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग गर्दै आउनु भएको छ  ।

पीडितले बलात्कारको आरोपमा शिवराज श्रेष्ठविरुद्ध ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराए पनि धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको ०७८ माघ २४ गतेको  इजलासले बलात्कृत नभएको भन्दै श्रेष्लाई सफाई दिएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध निहारिकाले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गर्नु भएको छ । उक्त  मुद्दा हाल  अदालतमा विचाराधीन छ ।

राजपुतले आफूमाथि भएको घटनाको सम्बन्धमा सुरुदेखि नै अनुसन्धान  हुनुपर्ने बताउँदै आउनु भएको छ ।

जनकपुरबाट काठमाडौं आएर माइतीघर र वसन्तपुरमा अनसन बस्तै आउनु भएकी निहारिकासँग माग पूरा गर्ने प्रतिबद्धतासहित गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल र उपसचिव वसन्त भट्टराई, अनशनरत निहारिकाको तर्फबाट बाराकी सावित्रा सुवेदी र रामेछापकी सुनिता गौतम तथा पत्रकार लोक्सरी कुँवरले असार ३ गते एक सहमतिपत्रमा हस्ताक्षर गरी अनशन तोडिएको थियो ।

सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनका छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने लगायतका पाँच बुँदे सहमति भएको थियो ।

उक्त सम्झौता पूरा नभएपछि पुन: साउन २० मा सिंहदरबारको दक्षिण ढोकाअघि अनशनमा बस्ने प्रयास गरेपछि निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको थियो ।


विमल पौडेल