निवासमा आगजनी घटनाका आरोपित प्रमुख प्रशासकीय अधिकृत गिरफ्तार

  ०८० चैत ६ गते

आफूबस्दै आएको सरकारी निवासमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले आगजानी गरेको आरोपमा प्रहरीले उहाँलाई ०८० चैत ५ गते जिल्ला सदरमुकाम खलंगाबाट गिरफ्तार गरेको छ ।

आफू बस्दै आएको निवासमा ०८० फागुन २४ राति आगजनी र ढुङ्गामुढा गरी हत्या गर्ने प्रयास गरिएको भन्दै उहाँले फागुन २५ गते ईलाका प्रहरी कार्यालय, लटिनाथमा जानकारी गराउनुभएको थियो ।

निवासमा आगजनी गरी आफ्नो हत्या गर्ने प्रयास गरिएको भन्दै प्रमुख प्रशासकीय अधिृकतले प्रहरीमा जानकारी गराएदेखि घटनाको अनुसन्धान गर्दा आगजनीमा स्वयम प्रशासकीय अधिकृतको नै संलग्नता रहेको पाइएपछि उहाँलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताउनु भयो ।

घटनामा संलग्न प्रशासकीय अधिकृत विरुद्ध अपराधिक उपद्र गर्न नहुने मुद्दा दर्ता गरी जिल्ला अदालतबाट चैत ५ गते सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर सिंहको भनाइ छ ।

आगजनीको घटनालगत्तै जिल्ला तथा केन्द्रीयस्तरीय निजामति कर्मचारी संगठन र जिल्लास्थित सरोकारवालाहरुले घटनाको तत्काल छानविन गरी दोषिमाथि कारबाहीको माग गर्दै विज्ञप्ति समेत जारी गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको हत्याको प्रयास गरिएको घटनालाई सबैतिर गम्भीर रुपमा लिइएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्ट नेतृत्वको टोलीले फागुन २६ गते मार्मा गाँउपालिकाको केन्द्र लटिनाथ पुगेर स्थलगत निरीक्षण गरेको थियो भने जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर गोविन्द भण्डारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको थियो । निरन्तरको अनुसन्धानपछि प्रशासकीय अधिकृत अधिकारी नै घटनामा संलग्न रहेको देखिएको प्रहरी अधिकारीहरुले बताए पनि प्रशासकीय अधिकृत अधिकारीले घटना आफैले किने गरे भन्ने बारेमा प्रहरीले खुलाएको छैन् ।

गोरखा जिल्ला गण्डकी गाउँपालिका–१ घर भई हाल काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका–१ रानीवनमा बसोवास गर्दै आउनु भएका २७ वर्षीय अधिकारी २०८० भदौ महिनादेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएको थियो ।


नरेन्द्रसिह कार्की