निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा एकजना गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची व्यूरो इन्चार्ज ४० वर्षीय सन्तोष पतङवा (सुमन)लाई मोरङ्को विराटनगरस्थित न्यूरो अस्पतालबाट कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

मेची व्यूरो इन्चार्ज सुमनकी २८ वर्षीया पत्नी बिमला हाङवाङका अनुसार उनी कात्तिक १६ गते मोटरसाइकल दुर्घटनामा घाइते भई सोही दिनदेखि उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारार्थ भर्ना भएकोमा सो ठाउँबाट गिरफ्तारीमा परेका हुन् ।

"उपचारार्थ भर्ना भएका सुमनलाई अस्पतालको बेडबाटै प्रहरीले गिरफ्तार गर्‍यो र आफूलाई पनि प्रहरीले निकै सोधपुछ गरेर हैरान पारेको छ ।"-बिमलाले भनिन् ।

दुर्घटना हुँदा टाउकोभित्र रगत जमेकाले शल्यक्रियाका लागि औषधि सेवन गर्नुपर्ने डाक्टरको सुझाव अनुसार शल्यक्रिया गर्न र नियमित औषधि सेवन गर्ने वातावरण बनाइदिन पत्नी बिमलाले इन्सेकमार्फत संम्बन्धित पक्षसँग आग्रह गरेकी छिन् । उनले भनिन्-"उहाँको चोट गम्भीर छ । बिनाशर्त रिहा गरी उपचार व्यवस्थापन गर्न आग्रह गर्दछु ।"

राष्ट्रिय मानव अधिकार आयोग विराटनगरकी क्षेत्रीय निर्देशक मञ्जु खतिवडा, इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापा र इन्सेक विराटनगरका प्रलेख अधिकृत देवराज पोखरेलको टोलीले कात्तिक २४ गते सुमनसँग भेटघाट स्वास्थ्य अवस्था र प्रहरीको व्यवहारबारे जानकारी लिएको छ ।

टोलीले जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी विष्णुहरी कोइरालासँग भेटघाट गरी स्वास्थ्य उपचारबाट वञ्चित नगर्न अनुरोध गरेको थियो ।

सो अवसरमा डिएसपी कोइरालाले आरोपित अस्पतालबाट डिस्चार्ज भइसकेपछि गिरफ्तार गरिएको र स्वास्थ्य उपचारप्रति आफूहरू सम्वेदनशील रहेको बताए । उनले भने-'निर्वाचन विरोधी गतिविधि गरेको भनी माथिको आदेश अनुसार आरोपितलाई गिरफ्तार गरेका हौँ ।'


देवराज गुरुङ