निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सञ्चारकर्मी गिरफ्तार

नरहरिनाथ गाउँपालिका-८ निवासी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटका सदस्य २९ वर्षीय जगदिशनाथ योगीलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मङ्सिर ४ गते साँझ गिरफ्तार गरेको छ ।

कालिकोटबाट प्रकाशन हुने जनप्रभात साप्ताहिकका सह-सम्पादकसमेत रहेका पत्रकार योगीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार भएको घटनाको विरोध गर्दै जारी गरेको प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले जनायो ।

चुनाव विरोधी गतिवधिमा संलग्न व्यक्तिको पोष्टलाई शेयर, लाइक गर्ने जो कोहीलाई पनि गिरफ्तार गर्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी सुवासचन्द्र बोहोराले बताए ।

पत्रकारलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालीकोटको टोलीले मङ्सिर ५ गते प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (डिएसपी)को ध्यानाकर्षण गराएको छ ।

उम्मेदवारको घरमा कालो झण्डा

प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारको घरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मङ्सिर ४ गते कालो झण्डा गाडेका छन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्गबहादुर रावत, प्रदेश सभा उम्मेदवार कर्मराज शाही र महेन्द्रबहादुर शाहीको घरमा कालो झण्डा गाडेको पीडित पक्षले जनाएको छ ।

यसैगरी काङ्ग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनका उम्मेदवार भुपेन्द्रजङ्ग शाही, प्रदेश सभाका उम्मेदवार कालीबहादुर सहकारी र टेकराज शाहीको घरमा पनि कालो झण्डा राखेको स्थानीयबासीले बताएका छन् ।


कालीबहादुर मल्ल