निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा शिक्षिका गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै कात्तिक ३० गते फिदिम नपा-१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षिका ४० वर्षीया टिकादेवी राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विथाल्ने गतिविधिमा लागेका सो पार्टीका कार्यकर्ताहरू गिरफ्तार गर्ने अभियान सञ्चालन गरिएको र सोही क्रममा उनलाई सोधपुछका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।

उनलाई कात्तिक २९ गते विद्यालयबाट सादा पोशाकका प्रहरीले गिरफ्तार गरेको सो माविका प्रधानाध्यापक कमल बास्कोटाले बताए ।

सहायक जिल्ला शिक्षा अधिकारी युगमणी सवेहाङ र सो विद्यालयका प्रधानाध्यापक बास्कोटाले आरोपितलाई कात्तिक ३० गते दिउँसो प्रहरी कार्यालयबाट बुझेका थिए ।

दिउँसो सहायक जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसमक्ष जिम्मा लगाइए पनि शिक्षिकालाई प्रहरीले साँझ फिदिम नपा-१ स्थित फिदिम बजारमा आफन्त कहाँ बसिरहेको बेला पुनः गिरफ्तार गरेको हो ।

पार्टीमा उनको संलग्नताबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रधानाध्यापक बास्कोटाले बताए । आरोपित शिक्षिका नेपाल शिक्षक महासङ्घकी केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

आरोपितले सो पार्टीका तर्फबाट स्थानीय शान्ति समितिमा प्रतिनिधित्व समेत गरेको हुनाले उनको पार्टीमा संलग्नता रहेको पुष्टि भएको सई खड्काले बताए । आरोपित शिक्षिकाको निर्वाचन विरोधी गतिविधमा संलग्नता भए नभएको बारे अनुसन्धान भइहरेको उनले जानकारी दिए ।


मङ्गल बेघा